‘महाराज’ को ठगी धन्दा : रकम नभएको चेक दिएर यसरी ठग्थे

by समतल अनलाइन

काठमाडौं । नारायणी नदी किनारमा एक महिनाका लागि भन्दै गत साताबाट सुरु भएको महायज्ञ एक सातामै अन्त्य गरिएको छ ।

महायज्ञको मूल वाचकका रूपमा रहेका बालयोगेश्वर ‘महाराज’ बताउने विजय भण्डारीको ठगीका समाचार श्रृंखलाबद्ध प्रकाशित भएपछि आयोजकले मूल समारोह समिति तथा सम्पूर्ण उपसमितिहरू विघटन गर्दै महायज्ञ अन्त्यको घोषणा गरेको हो ।

एक समय आफूलाई विष्णु प्रपन्नाचार्य बताउने विजय आर्थिक ठगीको आरोपमा काठमाडौं जिल्ला अदालतको आदेशपछि २०७१ पछि १८ महिना र २०७६ मा १९ दिन जेल बसेका थिए । कैद सजाय भुक्तान गरेर निस्केपछि नाम बदलेर बालयोगेश्वर बनेका उनीमाथि केही ठगी मुद्दा अदालतमा विचाराधीन छन् । महायज्ञको उद्घाटन गर्न भन्दै अघिल्लो दिन नै चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन मुख्य वाचकको विवादित पृष्ठभूमि थाहा पाएपछि फिर्ता भएका थिए ।

गत मंगलबार महायज्ञ आयोजक समितिले कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गर्दै महाराजको बचाउ गरेको थियो । प्रवक्ता न्यौपानले यस्तो खण्डन गरेको तीन दिनपछि समितिले विज्ञप्ति जारी गर्दै महाराज आयोजक समितिको सम्पर्कमा नरहेको र उनले आफूहरूलाई झुक्काएको जनाएको हो ।

सुरुवाती दुई दिन मात्र यज्ञ स्थलमा देखिएका ‘महाराज’ त्यसपछि सम्पर्क बाहिर रहेका थिए तर गत मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने प्रवक्ता न्यौपानेले ‘महाराज’ काम विशेषले व्यस्त रहेको भन्दै उनको बचाउ गरेका थिए ।

भरतपुर महानगरपालिका २३ स्थित महायज्ञ आयोजक पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा महाराजले विभिन्न आशा भरोसासहित पूरा हुन नसक्ने झूटा आश्वासन दिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यसैका कारण महायज्ञ सञ्चालन गर्न प्राविधिक पक्षबाट असमर्थ भइयो ।’

मुख्य वाचकसँग जोडिएर पत्रपत्रिकामा आएका समाचारबाट आफूहरू स्तब्ध र लज्जित भएको जनाउँदै समितिले भनेको छ, ‘उहाँबाट यस किसिमका गल्ती भएका हुन् या होइनन्, ती कुरा सम्बन्धित व्यक्तिलाई नै थाहा होला । गल्ती गरेको भए सोको भागीदार स्वयं महाराज नै हुनुहोला ।’ समितिले कानुनी बाटोबाट छानबिन गरी दोषीमाथि उचित कारबाहीको माग पनि गरेको छ ।

मन्दिर व्यवस्थापनले यज्ञ सञ्चालनका क्रममा आफूहरूले कुनै आर्थिक सम्झौता नगरेको प्रस्ट पारेको छ । २५ करोड उठाउने लक्ष्य राखेर सुरु गरिएको महायज्ञ बीचमै बिथोलिएपछि यज्ञ व्यवस्थापनमा यसअघि नै गरिएको खर्च कसले बेहोर्ने भन्ने प्रश्न उब्जिएको छ । समितिले महायज्ञका क्रममा विभिन्न संस्था तथा व्यक्तिसँग महाराज आफैंले आर्थिक सम्झौता गरेको स्पष्ट पारेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले यज्ञ स्थलबाट सामग्री उठ्न थालेको बताए । उनले यज्ञका लागि भनेर ठूलो रकम उधारोमा कारोबार भएको बुझिएको पनि सुनाए । प्रजिअ भट्टराईले भने, ‘महाराजको विवाद आएपछि पनि केही व्यक्ति हामीले यज्ञ सञ्चालन गर्दा कसो होला भनेर आउनुभएको थियो । मैले यो तपाईंहरूकै छलफलबाट टुंगियोस् भनेर पठाएको थिएँ । पछि केही कुरा आएन ।’

महायज्ञ सकिएपछि पैसा दिने सर्तमा ‘महाराज’ आफैंले चितवनका विभिन्न व्यापारीसँग उधारो कारोबार गरेका थिए । ‘महाराज’ को विवादित व्यक्तित्वबारे समाचार आएपछि व्यापारीले रकम उठाउन ‘महाराज’ को खोजी गरे पनि उनी सम्पर्कमा छैनन् । पछिल्ला दुई दिनमा उधारोमा सामान दिने चितवनका व्यापारीले अनौपचारिक भेला नै गरेका थिए ।

सम्पर्कमा आएका ती व्यापारीका अनुसार करिब सवा करोड रुपैयाँ उधारो कारोबार भएको छ । टेन्ट, साउन्ड सिस्टम, फ्लेक्स, गाडी र खाद्यान्नमा सबैभन्दा धेरै रकम उधारो कारोबार भएको देखिन्छ ।

भरतपुरको अष्टभुजा पेट्रोल पम्पले ‘महाराज’ कै आग्रहपछि महायज्ञलाई भन्दै ५ लाख ५० हजारको पेट्रोल उधारोमा दिएको थियो । पम्पका लेखा अधिकृत कपिल थापाले पेट्रोलबापत ‘महाराज’ ले १ लाख र ३ लाख १५ हजारका दुईवटा चेक दिए पनि पहिलो चेक निर्धारित मितिमा खातामा रकम नभएका कारण नसाटिएको सुनाए । उनले भने, ‘गत १५ गतेको मिति भएको चेक साटिएन । अब अर्को के हुन्छ हेरम ।’ उनले दलबलसहित आएका ‘महाराज’ ले महायज्ञको कुरा सुनाएपछि विश्वासमा परेर उधारो कारोबार गरेको सुनाए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीका अनुसार झन्डै ६० जना कर्मचारीको तलब दिन बाँकी रहेको छ । उनले भने, ‘महाराजले यज्ञ आयोजकलाई थाहै नदिई आफूखुसी रूपमा लाखौंको कारोबार गरेको देखिएको छ । विस्तृत अझै बुझ्दैछौं ।’ उनले उधारोमा सामान दिएका व्यापारीको भेला डाकेर हिसाब खोज्न प्रयास गरिएको बताए । महायज्ञ अन्त्यको घोषणा लगत्तै आयोजक समिति र मूल समारोह समितिका अधिकांश व्यक्तिको मोबाइल स्विच अफ छ । आयोजक सदस्यको चालु रहेका केही नम्बरमा फोन गए पनि उठेन ।

आयोजक समितिले हालसम्म कति खर्च भयो र महायज्ञमा कति रकम उठ्यो भन्नेबारे औपचारिक बताएको छैन । महायज्ञ आयोजना हुनुपूर्व नै आयोजकले १५ लाख रुपैयाँ अग्रिम उठेको सार्वजनिक रूपमा दाबी गरेको थियो । समितिका अध्यक्ष पुडासैनीले करिब एक लाख ७० हजार मात्र नगद उठेको बताए । उनले भने, ‘यकिन खर्च कति भयो भन्ने निस्किसकेको छैन ।’

फटाहा महाराजले डुबाए : आयोजक
धार्मिक धामको विकास गर्ने, आयुर्वे्दिक अस्पताल बनाउने र आश्रम निर्माण गर्ने जस्ता उद्देश्य राखेर महायज्ञ सञ्चालन गर्ने तयारी थाल्दा आयोजक समितिका सबै सदस्य दंग थिए । झन् ‘महाराज’ आफैं अग्रसर भएर महायज्ञ भव्य बनाउन कस्सिएको देख्दा उनीहरू खुसी नहुने कुरै भएन ।

आयोजक समितिका एक सदस्यका अनुसार ‘महाराज’ ले सधैं बोकी हिँड्ने ५ वटा फोटो एल्बममा उनले विभिन्न दलका नेता, उच्च सरकारी कर्मचारीदेखि उपराष्ट्रपतिसँग बसेका तस्बिर थिए । तिनै तस्बिर देखाएर ‘महाराज’ ले आफ्नो शक्ति देखाउँथे अनि सबै विश्वासमा परिहाल्थे ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले सुनाए, ‘त्यति ठूला मान्छेको संगतमा भएका महाराज राम्रै होलान् भन्ने विश्वास भयो ।’ महायज्ञ आयोजनाका क्रममा पनि महाराजले आयोजक समितिका केही सदस्य बोकेर विभिन्न सरकारी कार्यालय पुग्थे । कतै सहयोग माग्न त कतै अनुमति लिन ।

आयोजक समितिका एक सदस्यका अनुसार जहाँ जहाँ महाराज जान्थे, सरकारी कर्मचारीले लुरुक्क काम गरिदिन्थे । तिनले सुनाए, ‘सबैले सम्मान गरेको र महाराज भन्नेबित्तिकै सबैले फटाफट काम गरिदिएको देखेर म त दंगै पर्थें ।’ ती सदस्यका अनुसार यज्ञ आयोजनापूर्व महाराज भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई पनि भेट्न पुगेका थिए ।

२०७५ पुस १–११ मा यही पार्वतीपुरको भानु माविले आयोजना गरेको धनधान्याचल महायज्ञमा महाराजले आफ्नै पहलमा मेयरलाई डाकेका थिए । ती सदस्यका अनुसार ‘महाराज’ को मेयरसँग नजिकैको सम्बन्ध थियो । उनले प्रश्न गरे, ‘ठूलाबडासँग उठबस भएको देखेपछि हामीले महाराजको पृष्ठभूमि खोतल्ने आँटै गरेनौं ।’

महायज्ञमा सबै मुख्य दलका अध्यक्षदेखि उपराष्ट्रपतिलाई डाक्ने काममा पनि महाराज समितिका केही सदस्य लिएर आफैं खटिएका थिए । यस्तो काममा खटिएका एक सदस्यका अनुसार महाराजले सजिलै उपराष्ट्रपतिलाई भेट्ने समय निकालेका थिए ।

उनले त्यो भेटको प्रसंग निकाल्दै सुनाए, ‘महाराजले बोलाए पनि किन नआउने भनेर उपराष्ट्रपति एकै बोलीमा तयार हुनुभयो ।’ ती सदस्यका अनुसार पूर्व निर्धारित एक कार्यक्रम नै पछाडि धकेलेर उपराष्ट्रपति ‘महाराज’ को निम्तामा चितवन जान तयार भएका थिए । उनले भने, ‘महाराजको शक्ति देखर हामी त छक्कै परेम ।’

समितिका अध्यक्ष पुडासैनीले चितवनका केही व्यापारीले कुनै सम्झौताबिना नै ‘महाराज’ लाई कसरी सजिलै पत्याएर लाखौंको उधारो कारोबार गरेका होलान् भनेर अचम्म माने । उनले सुनाए, ‘महाराजको एकै बोलीमा सबैले उधारो दिएको देखियो ।’ त्यस्तो कारोबारको कैयन् जानकारी ‘महाराज’ ले आयोजकलाई नदिएको उनको भनाइ छ ।

उनले यतिबेला आफूहरूमाथि तनावै तनाव रहेको सुनाए । फटाहा ‘महाराज’ का कारण आफूहरूले बित्थामा दुनियाँको गाली खानुपरेको र अनेकन् प्रश्नको सामना गर्नु परिरहेको बताए । उनले भने, ‘हामीलाई नैतिक रूपमै अप्ठ्यारो र्पयो ।’

रकम नभएको चेक दिएर ठग्थे
नारायणी नदी किनारमा आयोजित महायज्ञको ठूलो हिसाबको अधिकांश कारोबारमा ‘महाराज’ आफैं संलग्न भएको देखिएको छ । टेन्ट, खाद्यान्न, गाडी र साउन्ड सिस्टम जस्तो ठूलो कारोबारमा सक्रिय ‘महाराज’ ले व्यापारीलाई कारोबारबापत विभिन्न मितिको चेक दिएका थिए तर उनले दिएका ती सबै चेक साटिएका छैनन् ।

चेकमा कारोबार गरेका व्यापारीले ‘महाराज’ बेपत्ता भएपछि मात्र रकम नभएको खाताको चेक दिएर ‘महाराज’ ले ठगेको पत्ता पाएका छन् । जस्तो कि ‘महाराज’ ले पुस ९ मा नै नौतले मण्डप निर्माण तथा टेन्टका लागि संगम टेन्टसँग ३५ लाख रुपैयाँमा सम्झौता गरेर अग्रिम रकमको चेक दिएका थिए तर खातामा रकम नभएका कारण ती कुनै पनि चेक साटिएका छैनन् । भरतपुरकै अष्टभुजा पेट्रोल पम्पलाई महाराजले दिएको वाणिज्य बैंकको एउटा चेक पनि रकम नभएका कारण साटिएको छैन ।

रकम नभएको खाताको चेक प्रयोग गरेर अरूलाई ठग्ने महाराजको पुरानै शैली हो । २०७० फागुनताका महायज्ञ गर्न भक्तपुरको झौखेल पुगेका बेला ‘महाराज’ ले स्थानीय अमृत दाहाल, सुशील खत्रीलगायतका ५ जनालाई अमेरिका लैजाने भन्दै करिब २५ लाख रुपैयाँ उठाएका थिए । आफूलाई ठगेको पत्तो पाएपछि सबै स्थानीयले महाराजको खोजी गरेका थिए ।

गत वैशाखमा उनीहरूले फर्पिङको त्रिभुवन आदर्श आवासीय माविले आयोजना गरेको धनधान्याचल महायज्ञमा यिनै ‘महाराज’ मुख्य वक्ताका रूपमा छन् भन्ने थाहा पाएर फसेको रकम उठाउन त्यहीं पुगे । ‘महाराज’ ले सबैलाई एउटा कोठामा राखेर एक लाख नगद बाँडेर लिनु भन्दै दिए । अनिपाँचै जनाको नाममा विभिन्न मितिको १९ लाखको चेक काटिदिए ।

फसेको रकम उठ्यो भनेर पीडितहरू फर्किए तर ‘महाराज’ ले दिएको चेक साटिएन । किनकि उनको खातामा कुनै रकम थिएन । अमृतले सुनाए, ‘चेक बोकेर कति पटक बैंकमा धाएँ तर खातामा रकम नभएकाले साटिएन ।’ अमृतकै जस्तो सास्ती सुशीलले पनि बेहोरे । उनी आफैंलाई सम्झना छैन, महाराजले दिएको चेक साट्न भनेर कति पटक बैंक धाए भनेर ।

दुई फरक–फरक समयमा भएका ठगीका यी दुई घटनामा ‘महाराज’ ले एभरेस्ट बैंकको एउटै खाताको चेक दिएको देखिन्छ । अर्थात् रकम नभएको चेक दिएर ठग्ने ‘महाराज’ को पुरानै शैली रहेको बुझिन्छ ।

‘महाराज’ ले दिएको चेक बाउन्स भएपछि केही पीडितले १५ माघमा प्रहरी परिसर काठमाडौंमा लिखित जाहेरी दिएका छन् । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले ‘महाराज’ विरुद्ध दुई जनाले ९ लाख ८५ हजार रुपैयाँको चेक बाउन्स भएको भन्दै उजुरी दिएका हुन् । उनले भने, ‘यसबारे अनुसन्धान चलिरहेको छ ।’ कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like