काठमाडौं। ‘मलाई बाँचेर नेपाल फर्कन्छु भन्ने थिएन’, १४ वर्ष साउदी जेलमा बिताएर आएका उमेश यादवले पहिलो वाक्यमै भने । मृत्युदण्डको सजाय पाएका उमेश ३० लाख रुपैयाँ ब्लड मनी तिरेर बुधबार नेपाल आइपुगेका हुन् ।
यादवलाई पाकिस्तानी सहकर्मी मोहमद लकिफ बसिरको हत्या गरेको आरोपमा साउदी अरबको अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो ।
धनुषाका उमेश २५ वर्षको उमेरमा परिवार धान्न समस्या भएका कारण साउदी हानिएका थिए । सन् २००६ मा साउदी पुग्दा उनले लेवर काम पाएका थिए । काम पानीको पाइपलाइनमा थियो । काम गर्न थाले। एक महिना लगभग हुन लागेको थियो । सहकर्मी सिँढीमा चढेर पाइपको काम गर्दै थिए । उनी सहयोग गर्दै थिए । अकस्मात साथी सिँढीबाट झरे । चोट लाग्यो । साथीले उमेशको गल्तीले लडेको आरोप लगाए ।
दुईबीच झगडा सुरु भयो । उमेशले रिसको झोकमा फलामको डण्डीले हिर्काए । ‘मलाई पनि यत्तिकै आरोप लगाउँदा रिस उठयो’, उनले भने, ‘झोकमा फलामको डण्डीले हिर्काएँ ।’ लकिफ भुइँमा लडे । घटनापछि उमेश भागे ।
सामान्य चोट लाग्यो होला भन्ने उमेशले सोचेका थिए । तर वास्तविकता त्यस्तो थिएन । घटनाको १७ दिनपछि उमेशलाई पक्राउ गरियो । सहकर्मीको मृत्यु भएको पक्राउ परेपछि उमेशले थाहा पाए । ‘मान्छे मार्ने नै गरेर हानेको थिइनँ’, उनले भने, ‘सामान्य चोट लाग्यो होला भनेको मृत्यु नै भएछ ।’
परिवारको अर्थिक अवस्था सबल बनाउन हिँडेका उमेशलाई पुगेको एक महिनामै ठूलो झड्का लाग्यो । उनलाई त्यहाँको प्रहरीले पक्राउ गर्यो । पक्राउ गरेको चार दिनपछि उनलाई त्यहाँको जुबेल सेन्ट्रल जेलमा राखियो । सोधपुछ गरियो । उनले हत्या गरेका थिए । उनको बच्ने कुनै उपाय थिएन ।
जेलमा पुगेपछि ‘खुनका बदला खुन’ भन्ने सुने । त्यो सुनेपछि उमेशको हंशले ठाउँ छाड्यो । एकपल्ट परिवार सम्झे । त्यसबेला जीवन अब यहीँ सकियो भन्ने लागेको उनी बताउँछन् । ‘जेलमा खुनका बदला खुन भन्ने सुनेपछि मेरो होस उड्यो,’ उनले भने, ‘मैले त्यतिबेलै नेपाल फर्किन्छु भन्ने आश मारेको थिएँ ।’
उनलाई पहिलोपटक त्यहाँको अदालतले ११ सय कोर्रा, ११ वर्ष जेल र देश निकाला सजाय सुनाएको थियो । तर फेरि त्यहाँको उच्च अदालतले १५ अप्रिल २०१८ मा त्यहाँको उच्च अदालतले मृत्युदण्ड सुनायो । मृत्युदण्डको सजाय सुनाएपछि उमेशको केही हुनेवाला थिएन । उमेशको पक्षबाट लड्ने पनि कोही थिएन ।
२०१८ को फेब्रुअरीमा नेपालका उमेशलाई मृत्युदण्ड सुनाएको खबर मिडियामार्फत नेपालका सामाजिक अभियन्ता सुरज रायले थाहा पाए । सुरजले त्यसपछि परिवारलाई सम्पर्क गरे। उमेशले त्यहाँको सरकारी फोनबाट कहिलेकाँही फोन गरेको थाहा पाए सुरजले । त्यसपछि उमेशसँग कुरा गरे ।
उनले उमेशले नियतवश मारेको होइन भन्ने लाग्यो उनलाई । ‘यो मान्छेलाई बचाउँछु भन्ने लाग्यो,’ सुरजले भने, ‘उनलाई बचाउन तर त्यति सहज थिएन । किनकि त्यहाँको हरब्बा तहत (दफा) ले मृत्युदण्डको फैसला सुनाएको थियो ।’ हरब्बाको दफाले पीडित परिवारको अधिकारलाई कुण्ठित गथ्र्यो । अर्थात् ब्लड मनी तिरेर उन्मुक्ति पाउने अवस्था थिएन । तर अभियन्ता सुरजले दूतावासमार्फत पाकिस्तान गएर परिवारको अवस्था बुझे । परिवारसँग कुरा गरे । परिवार ब्लड मनी पाए माफी दिन तयार भयो ।
सुरजले मृतकको परिवारलाई त मनाए । तर ब्लड मनीवापतको रकम तिर्ने पैसा थिएन । सुरजले नै सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरे । त्यसपछि उमेशलाई बचाउन साउदी लागे ।
साउदीको अदालतले ३० दिनभित्र उमेशको तर्फबाट आफ्नो भनाइ राख्ने समय दिएको थियो । सुरजले अन्तिम समयमा त्यहाँको न्यायाधीशसँग कुरा गर्ने मौका पाए । ‘म तपाईको फैसलाको सम्मान गर्छु। तर कुरानमा पनि लेखेको छ । कसैको जीवन बाँच्छ भने त्यहाँ मानवीयताको जीत हुन्छ,’ न्यायाधीशसँगको भेटमा सुरजले भने । पीडित परिवारको वास्तविकता पनि राखे ।
न्यायाधीशले सबै कुरा सुनेपछि पीडित परिवारको अधिकारलाई प्राथमिकता दिन सहमत भयो । सुरजले सबै प्रक्रिया पुर्याएर फाइल दूतावासमार्फत अदालतमा बुझाए । त्यसपछि पीडित परिवारले पनि फैसला भएपछि मात्र ब्लड मनी लिने मन्जुरीनामा दियो । १० फेब्रुअरी २०१९ मा सजाय माफ भयो । सम्झौता बमोजिमको रकम ३० लाख दूतावासमार्फत पीडित परिवारलाई बुझाएर उमेश बुधबार नेपाल फर्किए । अन्नपूर्ण पोष्टबाट