‘बिहेवारी बीस वर्षपारी’ नारामै सीमित

by समतल अनलाइन

नेपालगञ्ज। युवा–युवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी बीस वर्षपारी’ भनाइ झुण्डिएको भ एपनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ ।

जिल्ला केही सचेत युवा–युवती र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागि परेका छन् । विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउँछन् ।

बाँके जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क छैन । बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाई छ । गत आर्थिक वर्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जमा बालविवाहका छ वटा उजुरी परेको थियो । ‘उजुरीको संख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्वाध हुने गरेको छ’, अधिकारकर्मी कमला पन्तले भनिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको औल्याए ।

२० वर्षभन्दा कम उमेरमा विवाह गरेमा यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ । बाँके जिल्लामा बालविवाह बढ्दै गएको छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले काम गरिरहेका छन् । बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरुपमा रोकिन भने सकेको छैन ।

नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर, बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन । बालविवाहका घटना बढ्दै गएको अवस्था छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ ।

बाँके जिल्ला मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला हो । विशेष गरेर सो समुदायमा २० वर्ष नपुग्दै विवाह गर्ने प्रचलन छ तर, कानूनले २० वर्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ । केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्षमा नै गर्न पाउँ भनेर माग समेत उठेको थियो । सो मागलाई समाजका अगुवाले गैरकानूनी माग भनेर टिप्पणी गरेका छन् ।

 

 
 
  
 

You may also like