महिनावारी हुँदा घरको बाटो हिंडेको भन्दै छिमेकी पुरुषबाट कुटिए दुई महिला

by समतल अनलाइन

कञ्चनपुर । सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिंडेको छ । तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिंडेको भन्दै एक पुरुषले दुई महिलालाई निर्घात कुटेका छन् ।

बेलडाँडी गाउँपालिका–१ टाइगर बस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खड्कामाथि हातपात गरेका हुन् । महिनावारीका वेला घरको बाटो हिंड्दा आँखा लागेर भैंसीले दूध नदिएको आरोप लगाउँदै शाहले कुटेको पीडितहरूले बताएका छन् । गीता र ईश्वरी देउरानी–जेठानी हुन् ।

‘मिन्स भएको बेला मेरो घरको बाटो किन हिंडेको भन्दै देउरानीलाई दलबहादुरले गाली ग¥यो,’ धनगढीको नोभा अस्पतालमा उपचाररत ईश्वरीले भनिन्, ‘मैले तथानाम नबोल्नुस् भनेपछि हामी दिदी–बहिनीलाई नै कुटपिट गर्‍यो ।’

गीताको पनि नोभा अस्पतालमै उपचार भइरहेको छ । खड्का परिवार आरक्षपीडित भएकाले शाह परिवारकै जमिनमा बस्दै आएको छ । दुवै परिवारको सधैं हिंड्ने बाटो नै एउटै छ । तर, त्यही बाटो प्रयोग गर्दा आफ्नो घरको बाटो हिंडेको आरोप लगाएर दलबहादुरले कुटपिट गरेका हुन् ।

दलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । छिमेकी, स्थानीय र महिला अधिकारकर्मीले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

‘सरकारले छाउपडी उन्मूलनका लागि देशव्यापी अभियान चलाएको छ, तर बेलडाँडीको घटनाले त्यो अभियानमाथि नै प्रहार गरेको छ,’ अधिकारकर्मी माया नेगीले भनिन् । दोषीलाई उन्मुक्ति दिन चलखेल गरे आन्दोलनमा उत्रिने महिला अधिकारकर्मीले चेतावनी समेत दिएका छन् । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like