कस्तो रहला आज देशभरको मौसम ?

by समतल अनलाइन

काठमाडौं । हिमपात तथा वर्षात् गराउने पश्चिमी न्यून चापीय प्रणाली बाहिरिसकेकाले आजदेखि देशभरको मौसम सुध्रिँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि जारी हिमपात तथा हिउँदे वर्षा आज (आइतबार) देखि देशभर रोकिने मौसमविद् वरुण पौडेलले बताएका छन् ।

तर पूर्व र पश्चिमका पहाडी तथा हिमाली भेगमा भने आज पनि मौसम बदली हुने सम्भावना रहेको उनले बताएका छन् । मौसमविद् पौडेलले भने, ‘पूर्व तथा सुदूरपश्चिमका पहाडी भेगका एक–दुई स्थानमा वर्षा र उच्च हिमाली भेगका एक–दुई स्थानमा हिमपात हुन सक्छ ।’

यसबाहेक काठमाडौं उपत्यकालगायत मध्य क्षेत्र पूरै (तराई–पहाड) र अन्य क्षेत्र (पूर्व–पश्चिम) का तराई भू–भागमा आज सामान्यतया मौसम सफा रहने देखिएको उनले बताएका छन् ।

‘यद्यपि काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका पहाडी भेगमा आंशिक बदली हुन सक्छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘कहिले घाम कहिले बादल हुन सक्ने देखिन्छ, तर पूरै धुम्म चाहिँ हुँदैन आज ।’

यसैबीच काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा अहिले बिहान कुहिरो र हुस्सु देखिएको छ । तर यो घाम लागेसँगै बिस्तारै हट्दै जाने उनको अनुमान छ ।
काठमाडौंको तापक्रम
मौसम सुध्रिँदै जाँदा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । आइतबार बिहान ५ः४५ बजे गरिएको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको मौसमविद् पौडेलले जानकारी दिए ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ५ गते (आइतबार)
दिउँसो : देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । पूर्वी भूभागका एकरदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

राति : देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । पूर्वी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ ६ गते (सोमबार)
दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।
राति : पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ ७ गते (मंगलबार)
दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

स्रोत : मौसम पूर्वानुमान महाशाखा

 

 
 
  
 

You may also like