फुटपाथ व्यापारीमाथि ज्यादती भएको भन्दै बुटवलमा प्रदर्शन

by समतल अनलाइन

बुटवल । फुटपाथका व्यापारीलाई बुटवलमा नगर प्रहरीले कुटपिट गरेको भन्दै नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विरोध प्रदर्शन गरेको छ।

नगर प्रहरीको ज्यादति रोक्न माग गर्दै संघले बुटवल उपमहानगरपालिकाविरूद्ध प्रदर्शन गरेको हो । बुधवार नगर प्रहरीको टोलीले सडकको फुटपाथभन्दा बाहिर ममफूली बिक्री गर्दै गरेका कृष्ण अर्यालमाथि कुटपिट गरेर घाइते बनाएको विरोधमा प्रदर्शनमा उत्रिनुपरेको संघर्ष समितिका संयोजक इन्द्र नेपालीले बताए ।

नेपालीले आफूहरू स्थानीय सरकारले उचित स्थानमा व्यापार व्यवसाय गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे । ‘हामीले फुटपाथ ओगटेर बसेका छैनौँ। फुटपाथ बाहिर हाम्रो ठेला, रिक्सा हुन्छ । हामीले पनि परिवार पाल्नुपर्‍यो । गरिखाने बाटो खोस्ने कस्तो सरकार आएको हो ?’ उनले भने ।

बुटवल बसपार्कबाट शुरू भएको प्रदर्शन पुष्पलाल पार्क, ट्राफिक चोक हुँदै उपमहानगरपालिका कार्यालय पुगेको थियो । संघका अध्यक्ष विष्णु पाण्डेले आफूहरूलाई वैकल्पिक व्यवस्था नगर्दासम्म संघर्ष जारी रहने बताए ।

बुटवलमा झण्डै १ हजार फुटपाथ व्यापारी छन् । बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्क आसपासमा ठेला रिक्सामा सामान बिक्री गर्न दिएको छैन । तर, आन्तरिक राजस्व कार्यालयतर्फको फूटपाथ छाडेर बिक्री गर्न भने छुट दिएको छ ।

 
 
  
 

You may also like