किन असुरक्षित छन् उपत्यकामा पैदलयात्री ?

by समतल अनलाइन

पाँच महिनामै ७६ पैदलयात्रीको मृत्यु
काठमाडौं। शिवपुरी जंगलस्थित ग्रिन भ्याली रिसोर्टबाट २८ पुसको ९ः४० बजे बा.१४च ६१२३ नम्बरको कार बत्तिँदै बुढानीलकण्ठतर्फ झर्‍यो ।

नियन्त्रण गुमाएको कार सडक पेटीमा चढ्यो । कारको ठक्करबाट ३८ वर्षीया लीला देवकोटाको मृत्यु भयो । कारचालक थिए, २१ वर्षीय पृथ्वी मल्ल । प्रहरीले उनलाई पक्राउ गर्‍यो । अनुसन्धानपछि खुल्यो । मल्ल मदिरामा धुत रहेछन् ।

रोचक त अझ के भने उनीसँग सवारीचालक अनुमतिपत्र समेत रहेनछ । रातभर ठमेलको डिस्कोमा रमाएका उनी हितैषीसँगै मदिरा थप्न रिसोर्ट पुगेका रहेछन् । फर्किने क्रममा उनी दुर्घटनामा परेका रहेछन् । प्रहरीको नियन्त्रणमा रहेका उनीविरुद्ध अनुसन्धान जारी छ ।

२१ साउन ०६६ को मध्यराति बा.४ च ८०३० नम्बरको कार सुन्धाराबाट बत्तिँदै वीर अस्पतालतर्फ आयो । नियन्त्रण गुमाएको कार भोटाहिटीको ‘सब–वे’ सामुन्नेको पेटीमा चढ्यो । कारको ठक्करबाट पेटीमा हिँडिरहेका पाँच भारतीयसहित ६ जनाको मृत्यु भयो । अनुसन्धानपछि खुल्यो, कारचालक २० वर्षीय विप्लवमान सिंह डिस्कोबाट फर्किएका रहेछन् । मदिराको नसामा रहेका उनले नियन्त्रण गुमाएपछि कार दुर्घटनामा परेको थियो । उनीविरुद्ध कानुनी कारबाही भइसकेको छ ।

२२ साउन ०५७ को रात जय नेपाल हल हुँदै एउटा पजेरो बत्तिँदै हुइँकियो । नियन्त्रण गुमाएपछि कार मोटरसाइकलमा ठोक्कियो । मोटरसाइकलचालक भुइँमा बजारिए । प्रहरी घटनास्थल पुग्दा मोटरसाइकल चालकको मृत्यु भइसकेको थियो । कार पछ्याउँदै प्रहरी अघि बढ्यो । जब कार तत्कालीन नारायणहिटी दरबारभित्र प्रवेश गर्‍यो । प्रहरी चुपचाप फर्कियो ।

अनुसन्धानपछि खुल्यो ठक्करबाट मृत्यु हुने चर्चित लोकगायक प्रवीण गुरुङ रहेछन् । कार हाँक्ने व्यक्ति भने तत्कालीन शाहज्यादा तथा पूर्व युवराज पारस शाह रहेछन् । मदिराले धुत बनेका शाहले नियन्त्रण गुमाउँदा पजेरो दुर्घटना भएको रहेछ । तर, उनीविरुद्ध कुनै कानुनी कारबाही भएन । उनको ठाउँमा ओखलढुंगाका खड्गबहादुर भुजेलले जेल सजाय भोगे ।

तीन वटा ‘हिट एन्ड रन’ घटनाका मिति फरक छन् । तर, कारण र परिणाम समान छन् । मदिरा र त्यसपछिको मस्ती । अर्को हो, सन्तानमाथि अभिभावकको बेपरबाह । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले ‘हिट एन्ड रन’ का अधिकांश घटनाको कारक मदिरा, मस्ती र अभिभावकको बेपरबाह देखिएको बताए । उनले भने, ‘हिट एन्ड रनका अधिकांश घटनामा भिभिआइपी र भिआइपी परिवारका सन्तान संलग्न भएको देखिन्छ । जसमा मदिरा मुख्य कारण हो । अर्को हो, सन्तानमाथि अभिभावकको बेपरबाह ।’

पाँच महिनामा ७६ पैदलयात्रीको मृत्यु
काठमाडौं उपत्यकामा बसको ठक्करबाट ज्यान गुमाउने पैदलयात्रीको संख्या ठूलो छ । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म मात्रै उपत्यकामा ५ हजार ३ सय ४३ दुर्घटना भएका छन् । ती दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७६ छ ।

यसमध्ये पनि ३४ जना पैदलयात्रुले ज्यान गुमाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । ‘बिहानको अँध्यारोमा हुस्सु लागेको वेलामा भएका दुर्घटनामा धेरै पैदलयात्रुको मृत्यु हुने गरेको छ । त्यसको कारण मौसम, सडकको अवस्था र चालकको लापरबाही हो,’ ढकालले भने ।

अधिकांश दुर्घटना बिहानीपख
प्रहरीका अनुसार दुर्घटनामा संलग्न मल्ल घटना हुनुभन्दा तीन दिनअघि अमेरिकाको फ्लोरिडाबाट नेपाल आएका थिए । बिबिए अध्ययनरत उनी गत शुक्रबार रातभर ठमेलमा नेपाली नायिका पारमिता आएल राणा, मोडल मनीषा महर्जन र करिम मास्केसँग मस्त थिए । राति ११ बजे ठमेलको एलओडी डिस्को पुगेका उनीहरू रातभर ठमेलमै रहे । मदिरा सेवनबाट धुत भएका उनीहरू बिहान ठमेलबाट निस्किए ।

कार मल्लले हाँकेका थिए । उनीहरू केशर महल, महाराजगन्जबाट बत्तिँदै बुढानीलकण्ठबाट शिवपुरी जंगलस्थित ग्रिन भ्याली रिसोर्ट पुगे । तर, रक्सीले लठ्ठ मात्र होइन, लाइसेन्ससमेत नभएका उनलाई केशर महल चोकमा चौबीसै घण्टा मापसे परीक्षणमा तैनाथ ट्राफिक प्रहरीले विनाअवरोध जान दिए । फलतः दुर्घटना भयो ।

थानकोट चेकपोस्टका अर्जुनकुमार केसी मंगलबार छोरालाई मोटरसाइकलको पछाडि राखेर विद्यालय पुर्‍याउन हिँडे । थानकोट चेकपोस्टमा बस्दै आएका केसीलाई चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा गाडीले ठक्कर दियो । पर्वत ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भएका उनको मोटसाइकलमा गाडीले ठक्कर दिँदा निधन भयो । यो पनि बिहानकै घटना थियो ।

सोमबार बिहान चाबहिल–सुकेधारा खण्डमा गाडीको ठक्करबाट एक छात्राको ज्यान गयो । पशुपति क्याम्पस चाबहिलमा बिबिएस चौथो वर्षमा अध्ययनरत सृष्टि पन्तलाई बा.७ ख ५९३० नम्बरको गाडीले ठक्कर दिएको हो । तीव्र गतिमा रहेको बसले बाटो काट्ने क्रममा पन्तलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । चालकको लापरबाहीका कारण गोरखा स्थायी घर भएकी पन्तको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यो पनि बिहानकै घटना थियो ।

८ मंसिरमा मर्निङवाकमा निस्किएका बसुन्धरास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डा. प्रभु जोशीलाई गाडीले ठक्कर दियो । बानेश्वर चोकमा बा.४ख ६१४ नम्बरको बसले ७२ वर्षीय डाक्टर जोशीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । यो पनि बिहानकै घटना थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले उपत्यकाभित्र भएका अधिकांश दुर्घटना बिहानको समयमा भएको बताए । उनले भने, ‘उपत्यकाभित्र भएका अधिकांश दुर्घटना बिहानपख भएका छन् । पहिल्याउँदै जाँदा यसमा कतिपय दोष प्रहरीको पनि होला । अर्को मौसमको हो ।’ मर्निङवाकमा निस्किएका मान्छे दुर्घटनामा परेका छन् ।

कजेल जान बस कुरिरहेका विद्यार्थी पनि दुर्घटनामा परेका छन् । यसो हुनुमा चालकको लापरबाही त हो नै । अर्को मौसम पनि दोषी भएको उनले बताए । बिहानको समयमा भिजिबिलिटी कम हुन्छ । चालकले बाटो देख्दैन । त्यसो हुँदा दुर्घटनाको सम्भावना बढी हुने उनको भनाइ छ ।

यस्तो छ कानुन
सवारी तथा यातायात व्यवस्था ऐन–०४९ अनुसार विना सवारी चालक अनुमतिपत्र सवारीसाधन चलाउन गैरकानुनी ठहरिन्छ । अझ दुर्घटनाबाट कसैको ज्यान गए पाँच वर्षदेखि जन्म कैद र दुई हजार रुपैयाँसम्मको जरिवाना हुने कानुनी व्यवस्था छ ।

ऐनको दफा १६१ उपदफा १ अनुसार कसैले सवारी चलाई कुनै मानिसलाई किचेर, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस दुर्घटनाबाट तत्कालै वा सोही चोटको परिणामस्वरूप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुने व्यवस्था छ ।

सोही दफाको उपदफा २ मा भने लापरबाही गरी चलाएको सवारीसाधनले किचेर, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको तत्कालै वा २१ दिनभित्र मरेमा चालकलाई तीनदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

मुख्य कारण ट्राफिक नियम उल्लंघन
भीमप्रसाद ढकाल प्रमुख,महानगरीय ट्राफिक प्रहरी महाशाखा
सडक खाल्डाखुल्डी, हिलो, धुलो, चालकको लापरबाही, तीव्र गतिलगायत कारणले दुर्घटना बढेका छन् । दुर्घटनाको मुख्य कारण भनेको ट्राफिक नियमको उल्लंघन नै हो । चालक ट्राफिक नियम मान्दैनन् । पैदलयात्री आकाशे पुलमुनिबाटै बाटो काट्छन् ।

बाटो उही छ, तर सवारी थपिएका थपिएकै छन् । यी विभिन्न कारणले दुर्घटनाको दर बढेको हो । तीव्र गति, चालकको लापरबाही, सडकको दुरावस्थालगायत कारणले उपत्यकामा सवारी दुर्घटनाको दर बढे पनि मानवीय क्षति कम हुँदै गएको छ । दुर्घटना र त्यसबाट हुने मानवीय क्षति कम गर्न हामी कोशिस गरिरहेका छौँ । यही वर्ष मात्रै हामीले ४१ हजारलाई ट्राफिक नियम सिकाएका छौँ ।

दैनिक दुई हजार बढी नियमित चेकजाँचबाट कारबाहीमा पर्छन् । गत वर्षभन्दा दुर्घटना कम भएको छ । गत वर्ष उपत्यकामा २ सय ६९ जनाको मृत्यु भएको थियो । चालू आवको अहिलेसम्मको अवधिमा ७६ जनाको मात्र मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like