अस्पतालको तीन एम्बुलेन्स तीन वर्षदेखि ग्यारेजमा, निजी एम्बुलेन्सलाई महँगो शुल्क तिर्दै बिरामी

by समतल अनलाइन

वीरगञ्ज । बिरामीको सुविधाका लागि विभिन्न देशबाट सहयोगस्वरूप प्राप्त तीन वटा एम्बुलेन्स नारायणी अस्पतालले प्रयोगविहीन अवस्थामा पुर्‍याएको छ ।

भारत, पाकिस्तानलगायतका देशले उपलब्ध गराएको एम्बुलेन्स मर्मत–सम्भारको अभावमा प्रयोगविहीन अवस्थामा पुगेका हुन् । अस्पतालका पाँचमध्ये हाल दुई एम्बुलेन्स मात्र सञ्चालनमा छन् ।

प्रयोगका क्रममा बिग्रिएका तीन वटा एम्बुलेन्स मर्मत सम्भार अभावमा कवाडीका रूपमा थन्काइएको छ । बिग्रिएका एम्बुलेन्स बजेट अभावका कारण थन्क्याउनुपर्ने अवस्था आएको अस्पताल प्रशासनले जनाएको छ ।
तीन वर्षदेखि ग्यारेजमा
अस्पताललाई पाकिस्तान सरकारले उपलब्ध गराएको ना १ ज ४३९ नम्बरको एम्बुलेन्स तीन वर्षदेखि वीरगन्जको आदर्शनगरस्थित एक ग्यारेजमा थन्किएको छ । अन्य सवारीसाधनमा ठोक्किएर बिग्रिएको एम्बुलेन्स मर्मतका लागि ग्यारेजमा लगिएको थियो ।

तर, तीन वर्षसम्म पनि एम्बुलेन्स मर्मत गरिएको छैन । त्यसैगरी, भारत सरकारले उपलब्ध गराएको ना.१ झ ५०२ र बा.१ झ ८८०० नम्बरको एम्बुलेन्स पनि मर्मत–सम्भारको अभावमा थन्काइएका छन् । यी दुई एम्बुलेन्स अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट मदन उपाध्यायको निवास अगाडी थन्क्याइएको छ ।

पाकिस्तानले सहयोग गरेको ना.१ज ४३९ नम्बरको एम्बुलेन्स ३० वैशाख ०७३ मा बाराको अमलेखगन्जस्थित तीन नम्बर पुलमा ट्रकसँग ठोक्किएर बिग्रिएको हो । ना.३ ख १२४३ नम्बरको ट्रकको ठक्करबाट एम्बुलेन्स बिग्रियो ।

अस्पतालका कर्मचारी र तत्कालीन विकास समितिको गलत सम्झौताका कारण सवारी दुर्घटनाबाट क्षतिग्रस्त एम्बुलेन्स ग्यारेजमा थन्किएको अस्पतालका एक कर्मचारीले बताए ।
निजी एम्बुलेन्स प्रयोग गर्दै बिरामी
नारायणी अस्पतालका तीन वटा एम्बुलेन्स मर्मत–सम्भारको अभावमा ग्यारेजमा थन्किएपछि बिरामी भने चर्को शुल्क तिरेर निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य छन् । ‘सरकारी एम्बुलेन्स सस्तोमा सेवा पाइन्थ्यो,’ पोखरियाका दीपु बैठाले भने, ‘सरकारी एम्बुलेन्स बिग्रिएर थन्किएपछि बिरामीले चर्को शुल्क तिरेर निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।’ नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like