आजबाट हिउँदे अधिवेशन शुरु, सभामुख चयन प्रमुख कार्यसूची

by समतल अनलाइन

काठमाडौं । आज (शुक्रबार) बाट संघीय संसदको हिउँदे अदिवेशन शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो २ बजे संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन बस्न आह्वान गरेकी हुन् ।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । आजको बैठकको प्रमुख कार्यसूची प्रतिनिधि सभाको सभामुख चयन रहेको संसद सचिवालयले जानकारी गराएको छ । १४ असोजमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा अहिले डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन् । महराले १५ असोजमा पदबाट राजीनामा दिएका थिए । उनको सांसद् पदसमेत निलम्बनको अवस्थामा छ ।

शुक्रबारको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गर्ने सम्भावना छ । तर, यसको टुङ्गो भने लागिनसकेको स्रोतको भनाई छ । सभामुख पद रिक्त रहेको अवस्थामा संसदका सबै काम उपसभामुखले गर्न पाउनुपर्ने माग तुम्बाहाङ्फेले गर्दै आएकी छन् ।

नेकपाले सभामुख चयनको अनुकूलताका लागि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन माग गरेको छ । तर उनी हिउँदे अधिवेशनको पहिलो वैठक चलाएर मात्र राजीनामा दिने मुडमा रहेको स्रोतले जानकारी दिएको छ ।

संविधानको धारा ९१ (४०) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्न पाउने प्रावधान छ । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सांसदले बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

 

 
 
  
 

You may also like