महराको इजलासमा रोशनीको ‘बेचैनी’

by समतल अनलाइन

काठमाडौं। हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन् । उनकै जाहेरीका आधारमा जबरजस्ती करणी उद्योग मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराको निवेदनउपर उच्चमा सुनुवाइ चल्दै थियो ।

उनी साढे ११ बजेतिर अदालतमा पुगेकी थिइन् । उनी अदालत परिसरमा पस्नुअघि मुख्य प्रवेशद्वार बाहिर केही समय रोकिइन् । अलमलमा परे जस्तो देखिन्थिन् । केही समयपछि उनी सिधै इजलासतर्फ लागिन् ।

कालो सलले टाउको ढाकेकी थिइन् भने मुखमा मास्क थियो । अदालतभित्र पस्दा दुवै आँखा झुकेका थिए । न मुहारमा चमक देखिन्थ्यो । उनी कसैसँग बोलिनन् । निराश अनि गम्भीर भावभंगीमा इजलासमा बसिरहिन् । अदालतबाट बाहिरिँदै गर्दा पनि उनी उस्तै भावभंगीमा देखिन्थिन् ।

महराविरुद्धको मुद्दामा दिनभर सुनुवाइ चलेको थियो । उनी इजलासको अन्तिम सिटमा एक्लै बसेकी थिइन् । उत्सुकताका साथ बहस सुनिन् । अदालतबाट अपराह्न ४ बजेतिर बाहिरिएकी थिइन् । उनलाई इजलासबाट ‘तपाईंको केही भन्नु छ ? ’ भनेर सोधिएको थियो ।

जवाफमा उनले आफूलाई ‘के के भयो भयो ?’ मात्र भनिन् । ‘फसाइयो’ भन्दै गर्दा उनको बोली रोकियो । उनी भावुक बनेकी थिइन् । आफ्ना कुरा राखेर उनी बाहिरिएकी थिइन् । अदालतबाट बाहिरिएको डेढ घण्टापछि मात्रै इजलासबाट महरालाई थुनामै राख्ने आदेश आयो ।

मुद्दामा सुनुवाइ चलिरहँदा अदालत परिसरमा महरातर्फका आफन्त र शुभेच्छुकको आउजाउ बाक्लो थियो । अदालतभित्र प्रवेश गर्न सुरक्षाकर्मीले प्रवेशद्वारमा कडा सुरक्षा जाँच गरेका थिए ।

कडा सुरक्षाबीच बन्द इजलासमा सुनुवाइ चलिरहँदा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पनि पुगेका थिए । राजनीतिक कार्यकर्ता, कानुन व्यवसायी, पत्रकार र सर्वसाधारणले उत्सुकतापूर्वक आदेशको प्रतीक्षा गरेका थिए । अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like