नेपालगञ्ज । कक्षा ७ मा पढ्ने १६ वर्षका करण सार्की शनिबार राति नेपालगञ्ज नाका हुँदै भारत जान लागेका थिए। जुम्ला सिँजा गाउँपालिका–३ नराकोटस्थित भैरवी माविका यी छात्र कक्षामा प्रथम हुँदै आएका छन् । स्कुलमा दुई महिना जाडो बिदा भएको मौकामा ‘पैसा कमाउन’ भारत जान लागेको उनले बताए ।
उनका बुवा बलवीर, आमा झिमु, जेठो दाइ नन्दराज र माइलो दलसिंह भारतको उत्तर प्रदेशस्थित अजमगढमा छन् । उनीहरू त्यहाँका ग्रामीण बस्तीमा डुलेर जाडोका कपडा बेचेर आय आर्जन गर्छन् । ‘बा आमासँगै म पनि लुगा बेच्दै हिँड्छु’, करणले भने ।
करणसँगै १९ बालकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले राति ९ बजेतिर नाकामा रोकेको थियो । एसएसबीले उनीहरूलाई नेपाल प्रहरीमा बुझाएको थियो । प्रहरीले सिविन नेपालगञ्जको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा कम उमेरका छन्, नौ वर्षका दलसिंह सार्की । उनी कक्षा १ मा पढ्छन् । बुवा सर्णे सार्कीलाई भेट्न र उपचार गर्न जान लागेको उनले बताए ।
अधिकांशले जाडो छल्न र भारतमा रहेका अभिभावक भेट्न जान लागेको बताएका छन् । उनीहरू सबै नराकोटकै हुन् । उनीहरूलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुइटा अटो रिक्सा चढाएर भारत लैजाँदै गर्दा जमुनाहा नाकाबाट उद्धार गरिएको सिविन नेपालगञ्जका संयोजक सिद्धराज पनेरूले बताए ।
यी बालक ९ वर्षदेखि १७ वर्ष उमेरका छन् । सबैभन्दा बढी १६ वर्षका सात जना छन्। १७ वर्षका ६, १४ वर्षका २ र १३, १२, ११ र ९ वर्षका १–१ जना छन् । दलित परिवारका बालक गावैं रित्ताएर कमाउन जान लागेका हुन् । गाउँमा बाहुन–क्षेत्री बालक मात्र छन् ।
नराकोटमा ४ सय ३० घरधुरी छन् । जसमध्ये ३०.२३ प्रतिशत दलित रहेको वडाको प्रोफाइलमा उल्लेख छ । त्यहाँका घरघुरीमध्ये १ सय ८ घरधुरी अति विपन्न छन् । उनीहरू मंसिरदेखि माघसम्म कमाउन भारत जान्छन् । \
त्यहाँ मुख्य काम भनेको गोरखपुरमा तातो लुगा किनी गाउँ गाउँ डुलेर बेच्ने गरेको अभिभावक दलजित नेपालीले बताए । जाडो बिदामा बालबालिकालाई पनि यही कामका लागि लैजाने गरेको उनको भनाइ छ । अन्नपूर्ण पोष्ट दैनिकबाट