विश्वकै दुर्लभ एकसिङ्गे गैंडा मर्ने क्रम रोकिएन, चोटै नलागी ४३ वटा मरे

by समतल अनलाइन

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैंडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँच वटा गैंडा प्राकृतिक कारणले मरेका छन् ।

‘गैंडा मर्ने क्रम रोकिएको छैन’, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले भने । पछिल्लो समय यही मंसिर १८ गते बुधबार भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैंडा मृत अवस्थामा भेटियो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सिसुवारमा भेटिएको उक्त गैंडाको खाग र खुर सुरक्षित थियो र शरीरमा कुनै चोटपटक पनि लागेको थिएन । ‘मरेको गैंडा त्यस्तै तीस वर्ष उमेरको हो’, प्रवक्ता घिमिरेले भने, ‘मानव बस्तीमा गएर फापर, गहुँलगायतका खेती खाएको रहेछ । त्यसलाई पचाउन नसकी फुड पोइजन भएर मरेको निष्कर्षमा हामी पुग्यौँ ।’

निकुञ्जमा यसअघि विष प्रयोगबाट गैंडा मरेको घटना बाहिर आए पनि फुड पोइजनका कारण कुनै पनि गैंडा मरेको तथ्य भेटिँदैन । त्यसो त अघिल्लो आर्थिक वर्ष २०७५–०७६ मा ४३ वटा गैंडा चितवन निकुञ्जमा कालगतिले नै मरेको निकुञ्जसँग तथ्याङ्क छ । यो संख्या २०७४–०७५ मा २६, २०७३–०७४ मा २५ वटा थियो । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like