शंकास्पद झोलालाई ख्याल–ख्याल ठान्दा इन्स्पेक्टरसहित तीन जनाको गयो ज्यान

by समतल अनलाइन

अरुलाई बचाउन पुगेका इन्स्पेक्टर आफै समेत बचेनन्
धनुषा । क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शंकास्पद वस्तुलाई ख्यालख्याल ठान्दा विष्फोट भएर प्रहरी इन्स्पेक्टरसहित तीन जनाको ज्यान गएको छ । स्थानीय राजेश्वर साहको घरको गेटमा रातो झोलाभित्र हालेर झुण्ड्याएको बम प्रहरीकै असावधानीका कारण विष्फोट भएको हो ।

शुक्रबार राति ११ बजेतिर साह परिवारका सबै सदस्य सुत्ने तरखरमा थिए । राजेश्वरकी श्रीमती शौचका लागि बाहिर निस्किँदा गेटमा रातो झोला झुण्डिएको देखिन् । शंकास्पद लागेपछि परिवारका सबै सदस्यलाई भनिन् । साह परिवार घरबाट निस्केर पाँच सय मिटर पर आफ्नै मेडिकल सेन्टरमा पुगे । राजेश्वरले मेडिकल छेवैको इलाका प्रहरी कार्यालयमा गएर प्रहरीलाई जानकारी गराए ।

इन्स्पेक्टर अमिरकुमार दाहालसहितको टोली केहीबेरमै घटनास्थल पुग्यो । इन्स्पेक्टर दाहालले सुरुमा रातो झोला टाढैबाट नियाले । बम डिस्पोजल टोली बोलाउनुपर्ने इन्स्पेक्टर केहीबेरमै शंकास्पद वस्तुलाई नजरअन्दाज गर्दै झोला छुन पुगे । उनले चलाउने बित्तिकै विष्फोट भयो ।

विष्फोटमा इन्स्पेक्टर दाहालसहित घरधनी साह र उनका १६ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ । दाहालको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरी जवान रिजन महतो, मृतक साहका कान्छा छोरा प्रकाश र छोरी अञ्जली तथा बाबु भिखारी साह घाइते भएका छन् ।

भिखारीको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

‘बम–सम होइन भन्दै इन्स्पेक्टर सा’ब आफै नजिक गएर झोला के चलाएका थिए, ठूलो अवाजसहित विष्फोट भयो,’ घाइते भिखारी साहले भने, ‘उहाँको ओभर कन्फिडेन्स थियो । बम छैन भनेपछि अगाडि बढ्दा परिवार नै सखाप भयो ।’

साह परिवारका छिमेकी मनोज साहले प्रहरीले सावधानी नअपनाउँदा दुर्घटना भएको बताए । ‘प्रहरीले होस पुर्‍याएको भए यति ठूलो मानवीय क्षति हुने थिएन,’ उनले भने, ‘नजिकै सेनाको क्याम्प थियो, उनीहरूलाई बोलाउनेतिर प्रहरीले ध्यानै दिएन ।’

राति पानी परिरहेको थियो । महेन्द्रनगर क्षेत्रमा बिजुली पनि थिएन । त्यसैले प्रहरी आउँदासम्म घटनास्थलमा कोही गाउँले आएका थिएनन् । बम विस्फोट भएपछि मात्रै अरूले थाहा पाएका थिए । ‘शक्तिशाली आवाजसहित विष्फोट भएपछि मात्रै हामी आएका हौँ, हामी आउँदा त क्षति भइसकेको रहेछ,’ मनोजले भने ।

धनुषा प्रहरीका डिएसपी रामेश्वर कार्की भने घटनास्थलमा जम्मा भएको भिड हटाउने क्रममा विस्फोट भएको बताउँछन् । प्रहरीले सतर्कता अपनाएको उनको दाबी छ । ‘प्रहरीले पूर्ण सावधानी अपनाएको हो, बम हेर्न जम्मा भएको भिड हटाउन लाग्दा विष्फोट भयो,’ उनले भने ।

घटनामा ज्यान गुमाएका इन्स्पेक्टर दाहाल मादी नगरपालिका–२ संखुवासभाका हुन् । १ कात्तिक ०५५ मा असइबाट सेवा सुरु गरेका उनी असोज ०६० मा सइ हुँदै ०७५ मा इन्स्पेक्टर भएका थिए । पूर्व प्रधानमन्त्री झलनाथ खनालको पिएसओ समेत रहेका उनी एक वर्षदेखि धनुषामा कार्यरत थिए ।

तीन जना पक्राउ
राजेश्वरको घरमा बम राखेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका–२ की ललितादेवी महरा र सीतादेवी महरा छन् । अर्का एकको नाम सार्वजनिक भएको छैन । पक्राउ पर्नेहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध रहेको प्रहरी स्रोतले जनायो ।

स्रोतका अनुसार राजेश्वर ऋण दिने कारोबार गर्थे । विप्लव समूहका केही कार्यकर्तालाई समेत ऋण दिएको, तर फिर्ता नगरेपछि ताकेता गरेका उनलाई तर्साउन घरमा बम झुण्ड्याएको हुन सक्ने स्थानीय व्यापारी बताउँछन् । बम विष्फोटको बृहत् अनुसन्धानका लागि इन्स्पेक्टर उमाशंकर साहको नेतृत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।

घाइते भिखारी साहले भने, ‘इन्स्पेक्टर सा’बले बम–सम होइन भन्दै छोएलगत्तै पड्कियो’

बम–सम होइन भन्दै इन्स्पेक्टर सा’ब आफै नजिक गएर झोला के चलाएका थिए, ठूलो आवाजसहित विष्फोट भयो । उहाँको ओभर कन्फिडेन्स थियो । बम छैन भनेपछि अगाडि बढ्दा परिवार नै सखाप भयो । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like