निर्वाचनमा भाग लिने दलको सङ्ख्या ६४ पुग्यो

by समतल अनलाइन
99Shares

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता गराउने दलको सङ्ख्या ६४ पुगेको छ। निर्वाचन आयोगका अनुसार आइतबारसम्म ५६ दल दर्ता भइसकेका थिए भने सोमबार मात्रै थप ८ दल सूचीकृत भए।

सोमबार दर्ता भएका दलमा देवप्रकाश त्रिपाठी नेतृत्वको नागरिक शक्ति नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, खड्गबहादुर देवानको मितेरी पार्टी नेपाल, तुलसीराज गिरीको प्रगतिशील समाजवादी पार्टी र नेत्रबहादुर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) परेका छन्।

यसैगरी, वेजेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, नुमनाथ प्याकुरेलको राष्ट्रिय समुन्नत पार्टी र रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल पनि सोमबार दर्ता भएका दलमा समावेश छन्।

आयोगले दिएको जानकारीअनुसार प्रतिनिधि सभा निर्वाचनमा भाग लिन मङ्सिर १० गतेसम्म दलले दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। पहिलो दिन मङ्सिर १ गते १२ दल, दोस्रो दिन ५ दल, तेस्रो र चौथो दिनमा ८/८ दल, पाँचौँ दिन ७ दल, सातौँ दिन आइतबार १६ दल र आठौँ दिन सोमबार ८ दल दर्ता भएका छन्।

यस्तै, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता हुने दलको सङ्ख्या १३ पुगेको छ ।

You may also like