काठमाडौँ।नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्यो ।
सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउन पुगेको कर्णाली १९.२ ओभरमा अलआउट हुँदै ९४ रनमै समेटियो । टोलीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए भने मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ र गुल्शन झाले १३ रन जोडे।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ विकेट हात पारे । हर्मित सिंह र अविनाश बोहराले समान २–२ विकेट लिए भने स्कटले १ विकेट थपे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। कप्तान ऐरीले ३९ रन योगदान दिए। आरिफ शेखले २७, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कटले १० रन जोडे।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ विकेट लिए भने मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए ।

