खेलमैदान र टिभी लाइभबीचको समयको दुरुपयोग गर्दै सट्टेबाजी, क्रिकेट मैदानमै ८ जना सक्रिय

by समतल अनलाइन
60Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टेबाजीमा संलग्न रहेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

कार्यालयको टोलीले पक्राउ गरेका व्यक्तिमाथि गरिएको प्रारम्भिक अनुसन्धानमा उनीहरू ‘बल–बाइ–बल’को अग्रिम सूचना भारतमा रहेको सट्टेबाजी गिरोहलाई पठाउन खेलमैदानमा खटिएको तथ्य खुलेको छ।

पक्राउ परेका भारतीय नागरिकले हरेक बलको परिणाम पहिले नै भारतमा रहेका गिरोहलाई जानकारी गराउने गरेका थिए। उनका अनुसार यो समूहले अनलाइनमार्फत बेटिङ सञ्चालन गर्दै क्रिकेट मैदानमा बस्न, प्रत्येक बलको तत्काल सूचनालाई भारतमा रहेका साथीसमक्ष पठाउने र त्यही आधारमा सट्टेबाजी गराउने गरेको खुलेको हो ।

क्रिकेट रङ्गशालामा हुने खेल टेलिभिजन तथा क्रिकइन्फोमा केही ढिलो प्रसारण हुने भएकाले सोही समयान्तरलाई प्रयोग गर्दै उनीहरू ‘लाइभ’भन्दा अगाडि जानकारी पठाउन काठमाडौँ आएको प्रहरीले जनाएको छ। ‘टिभीको लाइभ खेलमैदानको भन्दा केही सेकेन्ड ढिलो हुने भएकाले यो समूहले त्योभन्दा अगाडि नै च्याटमार्फत प्रत्येक बलको जानकारी बेटिङ समूहलाई गराउने र त्यही अनुसार भारतमा रहेको गिरोहले सट्टेबाजी गराउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रत्येक बलमा हुने छक्का, चौका, रन आउट, बोल्डलगायत सबै घटनाको सूचना मैदानमै बसेर ‘लाइभ’ अगाडि पठाउने गरेको प्रहरीले बताएको छ । खेल हेर्न भनी टिकट लिएर रंगशाला प्रवेश गरेका उनीहरू खेलभर मोबाइलमा व्यस्त देखिएपछि निगरानी बढाइएको थियो । नियन्त्रणमा लिएपछि गरिएको छानबिनमा उनीहरू बल–बाइ–बल सूचनाका लागि नै आएका रहेको पुष्ट भएको प्रहरी अधिकृतले बताएका छन् ।

पक्राउ पर्नेहरूमा आन्ध्र प्रदेशका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३० वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल छन्। उनीहरूको साथबाट १५ थान मोबाइल फोन बरामद गरिएको छ।

You may also like