बुटवल । अन्तर्राष्ट्रिय बालदिवसको अवसर पारेर मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले मंगलबार बुटवलको हस्पिटल लाइन क्षेत्रबाट शान्तिपूर्ण प्रदर्शन गर्दै बालअधिकार संरक्षण सम्बन्धी विभिन्न माग राखेको छ।
शान्ति समाजले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्न, बालबालिकालाई राजनीतिक दुरुपयोग नगर्न र जुलुस–प्रदर्शनमा सहभागी नगराउन आग्रह गरेको छ। साथै, उनीहरूको उज्ज्वल भविष्यका लागि हिंसामुक्त समाज निर्माणमा सबै सरोकारवालाहरू संवेदनशील बन्नुपर्नेमा संगठनले जोर दिएको छ। शिक्षा क्षेत्रमा हुने राजनीतिकरण अन्त्य गर्नुपर्ने, शैक्षिक प्रतिष्ठानमा हुने तोडफोड तथा आगजनी गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने माग पनि गरिएको छ।
कार्यक्रमका प्रमुख वक्ता तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले समाजका विभिन्न क्षेत्र अझै पनि बालमैत्री वातावरण बनाउन असफल रहेको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्य, शिक्षा, क्षमता विकास र सुरक्षित भविष्य सुनिश्चित गर्न अविलम्ब प्रभावकारी कदम चाल्नुपर्ने बताए।
शान्ति समाजका केन्द्रीय सचिव डिपि खनालले बाल सुधार गृहको अनुगमनका क्रममा कैयौँ सुधार आवश्यक पक्ष देखिएको जानकारी गराए। उच्च अदालत बुटवल इजलास बार एसोसिएसनका अध्यक्ष **गोविन्द मरासिनी**ले बालबालिकाले कानुनले प्रदान गरेको अधिकार अनिवार्य रूपमा पाउनुपर्नेमा जोड दिए।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले दिगो लोकतन्त्र र शान्ति वातावरण कायम भए मात्रै बालअधिकार सुनिश्चित हुने बताउँदै औद्योगिक तथा व्यावसायिक विकासका लागि शान्ति पहिलो शर्त भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा राखे। नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष **विश्वास ढकाल**ले मानवअधिकार, स्वतन्त्रता र बालअधिकारका सवालमा पत्रकार महासंघ शान्ति समाजसँगै रहने प्रतिबद्धता जनाए।
शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले बालबालिका नै भोलिका देशका निर्मात्ता भएकाले उनीहरूको गास, वास, कपास, शिक्षा, संस्कार, स्वास्थ्य र सुरक्षित वातावरण सुनिश्चित गर्ने काम आजको मुख्य आवश्यकता भएको बताए।
कार्यक्रममा पूर्व सभापति, पूर्व पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन तथा साधारण सदस्य, नागरिक अगुवा, अभियन्ता र सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता सभापति अर्जुन ज्ञवालीले गर्नुभएको थियो भने स्वागत उपसभापति **कृष्ण पाण्डे**ले र सञ्चालन सहसचिव **अर्जुन कुवर**ले गर्नुभएको थियो।

