बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ९, केवलानीस्थित गौतमबुद्ध माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले विद्यालयको प्रगतिमा शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउँदै गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका निरन्तर प्रयत्नरत रहेको चर्चा गर्दै उहाँले यसमा सबैको योगदान अपरिहार्य रहने स्पष्ट पार्नुभयो । त्यसअवसरमा नगर प्रमुख खाणले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, सामाजिक डिभिजन कार्यालय र वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण भएको चार कोठे भवनको उद्घाटन समेत गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मृगेन्द्र प्रसाद रिजालले विद्यालयमा हाल पाँच सय बढी विद्यार्थी अध्ययनरत रहेको बताउँदै विद्यालयले भोगचलन गरेको जमिन विद्यालयकैं नाममा आउने प्रक्रियामा रहेको जानकारी दिनुभयो । सामुदायिक विद्यालय रोज्ने विद्यार्थीको संख्या हरेक वर्ष बढ्दै गएको उल्लेख गर्दै प्रअ रिजालले छोटो अवधिमैं विद्यालयमा ११ कोठाको नयाँ भवन निर्माण, बस सञ्चालन, कम्पाउण्ड वाल निर्माण लगायतका काम भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहयोगदाता, अक्षयकोषदाता लगायत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ संस्था, विद्यालयका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

