रुपन्देहीको मर्चवारीको नाम परिमार्जन, केन्द्र वडा नं. ४ खैरामा

by समतल अनलाइन
50Shares

भैरहवा । नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर २ गतेको बैठकले रुपन्देहीस्थित मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गर्ने निर्णय गरेको छ ।

साथै गाउँपालिकाको केन्द्र वडा नम्बर ३, रायपुरबाट सारेर वडा नम्बर ४, खैरामा राखिने निर्णय पनि भएको छ । मन्त्रिपरिषद्को निर्णय नम्बर २४ अनुसार, मर्चवारी गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तनका प्रस्ताव स्वीकृत भएका हुन् । मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईका अनुसार हाल केन्द्र रहेको वडा नम्बर ३ मा प्रशासनिक भवन निर्माणका लागि आवश्यक जग्गा नहुँदा भवन निर्माण प्रक्रिया रोकिएको थियो ।

वडा नम्बर ४ मा पर्याप्त जग्गा भए पनि केन्द्र नहुँदा भवन बनाउने कार्य अघि बढ्न नसकेको उहाँको भनाइ छ । अध्यक्ष बरईले आफू गाउँपालिका प्रमुखमा निर्वाचित भएपछि नाम परिवर्तन तथा भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै अब निर्णय आएपछि भवन निर्माणको बाटो खुलेको बताउनुभयो । हाल मर्चवारी गाउँपालिकाको कार्यालय भाडामा सञ्चालन भइरहेको छ । गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन् ।

You may also like