बुटवल – रुपन्देही उद्योग संघको आयोजनामा आगामी पुस ३ देखि १७ गतेसम्म बुटवल मण्डप औद्योगिक प्रदर्शनी स्थलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ हुँदैछ। ‘मेक इन नेपाल’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यो प्रदर्शनीलाई यस वर्ष परिमार्जित र उपभोक्ता–दर्शकमैत्री बनाइएको आयोजकले जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनी मूल समितिका संयोजक कृष्ण पराजुलीले स्वदेशी उद्योग र उत्पादनलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्यसहित महोत्सवको तयारी तीव्र रूपमा सुरु भएको जानकारी दिए। उहाँका अनुसार स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने, नयाँ उद्योग स्थापना गर्न प्रेरणा दिने र औद्योगिक सम्भावना पहिचानमा सहयोग पुर्याउने यो प्रदर्शनी महत्वपूर्ण हुने छ।
रुपन्देही उद्योग संघले २०४५ सालमा पहिलोपटक औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो। यसपटक प्रदर्शनीलाई नयाँ स्वरूपमा विस्तार गरिएको छ। बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघ यस वर्षका संरक्षक रहनेछन्।
संयोजक पराजुलीका अनुसार प्रदर्शनीमा ५ सय स्टल रहनेछन्। ८ लाख दर्शक अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोवार हुने लक्ष्य राखिएको छ।
यस वर्षको प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि तथा कृषिजन्य उत्पादन, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला तथा जुत्ता, आईटी तथा प्रविधि, रेस्टुरेन्ट, खाद्यान्नसहित विभिन्न उत्पादन तथा सेवा प्रदर्शित गरिनेछ।
प्रदर्शनीलाई आकर्षक बनाउन विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिनेछन्।
लोकदोहोरी प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता, लोकभजन प्रतियोगिता, ‘प्रदर्शनी आइडल’, टिकटक प्रमोसन कम्पिटिसन, तथा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति प्रदर्शनीका मुख्य आकर्षण हुने आयोजकले जनाएको छ।
प्रदर्शनी सफल बनाउन ४०१ सदस्यीय मूल समिति, ४१ सदस्यीय विशेष सल्लाहकार समिति, २१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा **मूल्यांकन समिति** तथा २० वटा विषयगत उपसमितिहरू गठन गरि तयारी थालिएको छ।

