बुटवल । बुटवल कम्प्युटर इन्स्टिच्युट (बिसिआई) ले सुरक्षा सेवा तयारी कक्षामा सहभागी भई नेपाल प्रहरी र नेपाली सेनामा सफल भएका विद्यार्थीहरूलाई मंगलबार सम्मान गरेको छ।

बुटवल–३ गोलपार्कस्थित बिसिआईको सभाहलमा आयोजित कार्यक्रममा नेपाल प्रहरीमा सफल ५४ जना र नेपाली सेनामा सफल ६५ जना गरी कुल ११९ जना विद्यार्थीलाई टीका लगाएर मायाको चिनो सहित सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रहरी नायव उपरीक्षक (डियसपि) मेघराज कडेलले सुरक्षासेवा केवल जागिर नभई राष्ट्र र जनताप्रतिको कर्तव्य भएको स्पष्ट पारे।
उनले भने, “अब तपाईंहरूको काँधमा नयाँ जिम्मेवारी थपिएको छ। जनताले तपाईँहरूबाट सुरक्षा, इमान्दारिता र विश्वासको अपेक्षा गर्छन्।”
३० वर्ष लामो प्रहरी सेवा अनुभव सुनाउँदै उनले आत्मबल, अनुशासन र निरन्तर मेहनतका माध्यमबाट प्रहरी जवानबाट महानिरीक्षकसम्म पुग्न सकिने प्रेरणादायी संदेश दिए।

त्यसैगरी बिसिआईका प्रवन्ध निर्देशक दीपक केसीले सुरक्षा सेवामा संलग्न हुन चाहने युवाका लागि बिसिआई ‘विश्वसनीय गन्तव्य’ बनेको बताए।
उनले भने, “हाम्रो उद्देश्य विद्यार्थीलाई सफल मात्र बनाउनु होइन, उनीहरूलाई अनुशासित, जिम्मेवार र राष्ट्रप्रेमी नागरिकका रूपमा तयार पार्नु हो। आगामी दिनमा प्रशिक्षणका संरचनालाई अझ आधुनिक र प्रभावकारी बनाउँदै लैजानेछौँ।”
पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, शिक्षक जीवन पाण्डे, र पूर्व प्रहरी निरीक्षक हेमलाल बेल्बासेले अनुशासन, कडा परिश्रम र सेवाभावलाई सुरक्षासेवाको आधारभूत गुण भन्दै नयाँ पुस्ताले जनताको मन जित्ने सेवा प्रदान गर्नुपर्नेमा जोड दिए।
नेपाली सेनामा प्रवेश पाएका आशिष परियारले प्रशिक्षणले आफूहरूलाई शारीरिक, मानसिक तथा व्यावसायिक रूपमा सक्षम बनाएको बताए।
नेपाल प्रहरीतर्फबाट जुना नेपाली र नेपाली सेनाका सन्तोष नेपालीले बिसिआईप्रति कृतज्ञता व्यक्त गर्दै संस्थाको निरन्तर मार्गदर्शन, मेहनत र साथले आफ्नो सफलता सम्भव भएको बताए।
विशिष्ट अतिथि केशव खड्का, प्रशिक्षक पुरुषोत्तम ज्ञवाली, प्रशिक्षक देव न्यौपाने, प्रशिक्षक दीपक पराजुली लगायत सुरक्षा सेवा कार्यक्रमका प्रशिक्षकहरू कार्यक्रममा उपस्थित थिए।
कार्यक्रमका सञ्चालक अमृत पौडेलले बिसिआईले वर्षौंदेखि सुरक्षासेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्दै, यो सफलता प्रदेशकै गौरव तथा प्रेरणाको स्रोत भएको बताए।
स्वागत मन्तव्य प्रस्तुत गर्दै शिक्षक सुनिल नेपालीले २०८२ सालयताको प्रशिक्षण यात्रामा हजारौँ विद्यार्थी सुरक्षा सेवातर्फ आकर्षित भएको र बिसिआईले उनीहरूको भविष्य निर्माणमा ठोस योगदान पुर्याउँदै आएको बताए।
२०७८ सालदेखी सुरक्षा सेवा तर्फ तयारी गरेको यस संस्थाले २०८२ सालसम्म आउदा हजारौ विद्यार्थी सुरक्षामा प्रवेश गराउन सफल भएको छ।
२०८२ सालमा मात्र २०० भन्दा बढी विद्यार्थी सुरक्षा सेवामा प्रवेश भएको विसिआईले जनाएको छ ।

