बुटवल । नवलपरासी पूर्वको भुमहीस्थित बडेरा क्षेत्रमा सोमबार दिउँसो भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बुटवलबाट पूर्वतर्फ गइरहेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार अचानक अनियन्त्रित भई पुलदेखि तल खोलामा खसेर दुर्घटनाग्रस्त बनेको हो।
इलाका प्रहरी कार्यालय सुनवलका अनुसार दुर्घटना दिउँसो १ बजेतिर भएको हो। दुर्घटनामा अर्घाखाँची, धातिवाङ–८ का ६५ वर्षीय मणिराम पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। कारमा सवार मणिराम पौडेल गम्भीर घाइते भएका थिए। स्थानीयको सहयोगमा तत्काल उद्धार गरी पृथ्वीचन्द्र अस्पताल, परासी लगिए पनि उपचारका क्रममा उनको मृत्यु भयो।
उक्त कारका चालक तथा मृतकका छोरा हरिसचन्द्र पौडेल सामान्य घाइते छन्। प्रहरीका अनुसार बुबा–छोरा अर्घाखाँचीबाट काठमाडौं जाँदै गर्दा दुर्घटना भएको हो। घटनास्थलको प्रकृतिलाई आधार मान्दै इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले तीव्र गति र नियन्त्रण गुमेको कारण कार खोलामा खसेको प्रारम्भिक अनुमान गरेको बताए।

