फागुन २१ मा चुनाव हुँदैन : एमाले महासचिव शंकर पोखरेल

by समतल अनलाइन
97Shares

बुटवल।नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते निर्धारित गरिएको चुनाव नहुने दाबी गरेका छन्। उनले सरकारका गतिविधि नै निर्वाचनतर्फ उन्मुख नभएकाले सो मितिमा चुनाव सम्भव नदेखिने बताए। पोखरेलका अनुसार एमालेले चुनावबाट पछि हट्ने कुरा नभए पनि “मन नहुने” कुनै पनि निर्वाचनको पक्षमा पार्टी नबस्ने स्पष्ट अडान छ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा गरेको भेटघाट कार्यक्रममा उनले हालको राजनीतिक अवस्थाको समाधान प्रतिनिधिसभा पुनःस्थापनाबाट सुरु हुनुपर्ने बताए। उनको भनाइमा केही दललाई बुझाउन मात्र चुनावको मिति भनिएको हो तर त्यसले व्यावहारिकता राख्दैन। “यो सरकार चुनावका लागि होइन। निर्वाचन गराउँदा पनि गराउँदैन। २०५९ जस्तो वैधता नपाउने चुनाव गर्नुको अर्थ छैन,” उनले भने।

महासचिव पोखरेलले सुरक्षा निकायको मनोबल कमजोर बनाइएको आरोप पनि लगाए। हतियार लुटिएको घटना र कैदी छोडिएको प्रसंगले प्रहरी तथा सर्वसाधारण दुवै त्रसित भएको उल्लेख गर्दै उनले यस्तो परिस्थितिमा स्वतन्त्र र निष्पक्ष चुनाव सम्भव नदेखिने बताए। “प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर नआएसम्म चुनाव हुन्छ भन्ने आधार हुँदैन,” उनका शब्द थिए।

उनका अनुसार सरकारले राजनीतिक दलहरूसँग संवाद र सहमति खोज्नै चाहेको छैन, जसले सरकारकै चुनावप्रतिको इच्छाशक्ति कमजोर भएको पुष्टि गर्छ। देशलाई संवैधानिक बाटोमा अघि बढाउन प्रतिनिधिसभा पुनःस्थापना, संविधान संशोधन र युवाका माग सम्बोधन नै उपयुक्त विकल्प भएको उनको धारणा छ।

You may also like