नयाँ राजनीतिक दल दर्ताका लागि समयावधि थप

by समतल अनलाइन
52Shares

काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि तोकिएको म्याद थप गरेको छ । आयोगका अनुसार कात्तिक ३० गतेसम्मका लागि खुला गरिएको समय सीमा मंसिर ६ गतेसम्म लम्ब्याएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सो मितिसम्म दर्ता सम्बन्धी सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सकिनेछ। यसअघि आयोगले कात्तिक ३० गतेभित्र नयाँ दलले निवेदनसहित दर्ता प्रमाणपत्र प्राप्त गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । साथै आगामी फागुन २१ मा निर्धारित निर्वाचनका लागि दल दर्ता मंसिर १ देखि ७ गतेभित्र गराउनुपर्ने उल्लेख गरिएको थियो।

प्रवक्ता भट्टराईले भने, ‘नयाँ दल दर्ता गर्नेहरूको हकमा पनि मंसिर ६ गतेसम्म प्रक्रिया पुर्‍याएर आएका निवेदन लिने र चुनावका लागि पुनः ७ गतेभित्र दर्ता गर्नुपर्ने छ ।’

आयोगका अनुसार हालसम्म १२२ राजनीतिक दल कायम रहेका छन् । सरकारद्वारा निर्वाचन घोषणा भएपछि ७ नयाँ दल दर्ता भएका छन् भने अर्का ७ दल खारेज भएका छन् । साथै, थप २८ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । ती दलहरूको सनाखत तथा कागजात प्रमाणीकरणको काम जारी छ।

You may also like