काठमाडौं। हामी नेपालका संस्थापक एवम् जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाललगायत व्यक्तिहरूलाई एकै ठाउँमा आउन आह्वान गरेका छन् ।
उनले गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको स्मरण गर्दै जनताको मत जितेका व्यक्तिहरूलाई त्यही गोरखा मन्दिरबाट आशीर्वाद लिएर यो अभियान सुरु गर्ने बताएका छन् ।
उनले सबै जिल्ला, पालिका र वडातहसम्म संगठन निर्माण भइसकेको स्पष्ट पार्दै लेखेका छन्, ‘राष्ट्रको हितका लागि, आगामी पुस्ताको भविष्यका लागि।’
यस्तो छ, गुरुङको स्ट्याटस
७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म जेनजी एकजुटता सम्पन्न भइसकेको छ। अब हामी चाहन्छौं अन्य नेपालीहरू पनि यस नेपाल परिवर्तन अभियानमा जोडिउन्। ‘आवर कन्ट्री निड्स अ अल्टर्नेटिभ सिभिलियन फोर्स’ पार्टी प्रेमी होइन देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरत छन्।
छिट्टै नै परिवर्तन चाहने सबै नेपालीलाई एकजुट गर्न हामी यसको डिजिटल प्लेटफर्म पनि सार्वजनिक गर्नेछौं। अब दोस्रो चरण सुरु हुँदैछ । जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने।
हामी सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल साथै समाजमा मन जितेका व्यक्तित्वलाई आह्वान गर्नु चाहन्छौं।
हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ । तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्।
जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, त्यही गोरखा मन्दिरबाट हामी आशीर्वाद लिएर यो अभियान सुरु गर्नेछौं । राष्ट्रको हितका लागि, आगामी पुस्ताको भविष्यका लागि।





