काठमाडौँ।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि सरेको हो ।
रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो । अन्तरिम आदेशका सम्बन्धमा आइतबार हुने सुनुवाइ भोलि सोमबार हुनेछ ।
पछिल्लो कहीँ समययता अस्थिर रहेको मधेश सरकारमा हाल सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको छ ।
तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले दलका नेता यादवलाई महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने बर्दिबास नगरपालिका ३ कालापानीस्थित पानस होटेलमा पुगेर एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाइन् ।
त्यसपछि विवाद चर्किएको हो । त्यसविरुद्ध मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।
यसैबीच, सात राजनीतिक दलले निरन्तर विरोध गर्दै आएका छन् । पूर्व प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकाले उनीहरूले मुख्यमन्त्री यादव र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजीनामा माग्दै नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद तथा नेता एवं कार्यकर्ताहरूले विरोध गर्दै आएका हुन् ।
उनीहरूले अदालतको निर्णय नआएसम्म विरोध गर्ने जनाएका छन्।





