काठमाडौं । लुम्बिनी प्रदेशमा यस वर्ष खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा गरिएको अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ मा खेतीयोग्य क्षेत्र गत वर्षको तुलनामा १.४२ प्रतिशतले घटेर ७ लाख ६८ हजार ९६८ हेक्टरमा सीमित भएको छ।
क्षेत्रफल घटेको भए पनि उत्पादन भने बढेको छ। समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको कुल उत्पादन ३.४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टन पुगेको छ। त्यस्तै, दूध, मासु, अण्डा र माछाको उत्पादन पनि बढेको छ। दूध २.८८ प्रतिशत, मासु ३.०३ प्रतिशत, अण्डा ३.११ प्रतिशत र माछा १३.९८ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ। काठ उत्पादन पनि गत वर्षको तुलनामा २.३४ प्रतिशतले बढेको छ।
यसैबीच कृषि क्षेत्रमा प्रवाहित कर्जा भने ३.४६ प्रतिशतले घटेको उल्लेख छ। कुल कृषि कर्जामा रुपन्देहीको हिस्सा ४३.८० प्रतिशतसहित सबैभन्दा बढी छ भने रुकुमपूर्वको हिस्सा ०.४० प्रतिशत मात्र रहेको छ।
प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५०.६० प्रतिशत रहेको छ। नमूना उद्योगमध्ये रोजिन (Resin) उत्पादन गर्ने उद्योगले ८८.६९ प्रतिशत क्षमता उपयोग गरी सबैभन्दा अगाडि रहे भने ड्राइ सिरप उत्पादन गर्ने उद्योगले ८.६४ प्रतिशत मात्र क्षमता उपयोग गरेको पाइएको छ।
औद्योगिक उत्पादन हेर्दा सिन्थेटिक कपडाको उत्पादन १७०.७७ प्रतिशतले वृद्धि भई सबैभन्दा अगाडि रहेको छ। औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ६.९३ प्रतिशतले वृद्धि भएको छ। यो कर्जामध्ये ४३.६३ प्रतिशत कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा गएको छ भने विद्युत्, ग्यास तथा पानी क्षेत्रका उद्योगमा १ प्रतिशत मात्र पुगेको छ।
सेवा क्षेत्रमा हेर्दा, नमूना छनोटमा परेका १० पर्यटकस्तरीय होटलले दिएको जानकारीअनुसार, होटल शय्या सङ्ख्या ३४.२० प्रतिशत, शय्या बिक्री ४५.७४ प्रतिशत र पर्यटक आगमन ६१.७८ प्रतिशतले घटेको छ। घरजग्गा रजिष्ट्रेशन भने ४२.८२ प्रतिशतले बढेको छ, तर त्यसबाट उठ्ने राजस्व ५.४५ प्रतिशतले घटेको छ।
२०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १५.४३ प्रतिशतले र कर्जा प्रवाह २.९२ प्रतिशतले बढेको देखिन्छ। बचत तथा ऋण सहकारी संस्थातर्फ हेर्दा कुल पुँजी २.४४ प्रतिशतले ह्रास भएको छ भने बचत परिचालन ६.१६ प्रतिशतले र कर्जा प्रवाह २.५० प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ।





