काठमाडौं । सरकारले भिजिट भिसामा विदेश यात्रा गर्नका लागि लागु गरिएको ६ बुँदे मापदण्ड खारेज गरेको छ। अध्यागमन विभागको प्रस्तावमा गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार उक्त मापदण्ड खारेज गर्दै नयाँ, सरल र व्यवहारिक प्रक्रिया लागू गर्ने निर्णय गरेका हुन्।
नयाँ व्यवस्थाअनुसार अब भिजिट भिसामा विदेश जान चाहने व्यक्तिले ६ महिना बाँकी रहेको राहदानी, गन्तव्य देशको वैध भिसा, दुईतर्फी हवाई टिकट, र स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा पत्र मात्र पेश गरे पुग्नेछ।
अध्यागमन विभागका एक अधिकारीका अनुसार नयाँ प्रणालीले यात्रुहरूका लागि अनावश्यक झन्झट र कागजी प्रक्रिया घटाउनेछ।
यसअघि लागू गरिएको ६ बुँदे मापदण्डमा होटल बुकिङ, आफन्तसँग बस्ने भए तीन पुस्ते विवरण, कम्तीमा पाँच सय अमेरिकी डलरको व्यवस्था, र अन्य कागजी प्रमाणहरू अनिवार्य गरिएको थियो। ती प्रावधानहरूलाई विभेदकारी र अत्यधिक जटिल भन्दै लामो समयदेखि आलोचना हुँदै आएको थियो।
नयाँ निर्णयले वैदेशिक भ्रमण गर्न चाहने नेपालीहरूका लागि सहजता ल्याउने अपेक्षा गरिएको छ।
 
			        

 
												 
														

