खगेन्द्र सुनारको प्रश्न : कांग्रेस महाधिवेशन प्रतिनिधि हुनु ‘बोको हरामको सदस्य’ बन्नु हो ?

by समतल अनलाइन
61Shares

काठमाडौं । श्रम मन्त्रीमा सिफारिस भएर शपथ रोकिएका खगेन्द्र सुनारले आफूविरुद्ध सञ्चारमाध्यम खनिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले सञ्चारमाध्यमहरूले बुझ्दै नबुझि आफूविरुद्ध समाचार लेखेको दाबी गरेका छन् ।

उनीविरुद्ध विभिन्न विवाद सार्वजनिक भएपछि अन्तिम समयमा मन्त्री पदमा नियुक्ती रोकिएको थियो । स्वतन्त्र सरकारले कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका उनलाई मन्त्री बनाउन लागेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको शपथ रोकेकी थिइन् ।

आफूविरुद्ध आएका समाचारको हेडिङ पढ्दै सुनारले भनेका छन्, ‘कांग्रेस महाधिवेशन प्रतिनिधि खगेन्द्र सुनार ? पख्नुस् है, यो पनि समाचारको हेडलाइन हो ?’

उनको प्रश्न छ, ‘कांग्रेस हुनु भनेको अपराधी हुनु हो ? कांग्रेस हुनु भनेको रिह्याब सेन्टरबाट लिएर आएको भनेजस्तो हो ? यो कुनै त्यस्तो भूमिगत बोको हरामको सदस्य हुनु जस्तो हो ? ओसामा विन लादेनको सदस्य हुनु भनेजस्तो हो कांग्रेस महाधिवेशन प्रतिनिधि ?’

सुनार २०७८ मंसिरमा भएको १४औं महाधिवेशनका लागि दैलेख– १ बाट महाधिवेशन प्रतिनिधि बनेको खुलेको थियो । उनी अहिले पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि कायम रहेका छन् ।

मन्त्रीको शपथ लिनु अघि सुनार विभिन्न तीन अदालतमा मुद्दा चलिरहेका, पक्राउ पुर्जी जारी भएका र उनले महिला विरुद्ध अभद्र टिप्पणी गरेका विषय बाहिर आएका थिए ।

सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य बाहिर आएको छ ।

सुनारविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा रहेको छ भने सुर्खेत जिल्ला अदालतमा उनीविरूद्ध मेहेलकुना अस्पतालका प्रमुख डा सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ । त्यस्तै उनीविरुद्ध काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा रहेको छ ।

यी सबै विषयमा खगेन्द्रले स्पष्ट पारेका छन् । उनले मेहेलकुना अस्पतालमा डाक्टरको लापरवाहीले बच्चाको ज्यान गएको र आफूले ‘यो के भएको हो ?’ भनेर फोन मात्रै गरेको दाबी गरेका छन् ।

यस्तै, बहुबिवाहको समाचार पनि सत्य नरहेको उनको भनाई छ । आफ्नै नाम र एउटै नगरपालिकाका युवकले गरेको विवाहलाई आफूसँग जोडेर प्रचार भएको उनको भनाई छ ।

यस्तै, अधिवक्ता मनीषा गौतमले आफ्नो फोटो सामाजिक सञ्जालमा हालेर आफूलाई ‘अपराधी’ करार गरेको उनको जिकीर छ ।

You may also like