काठमाडौँ। हमासले नेपालका विपिन जोशीको मृत्यु पुष्टि गर्दै जोशीसहित चार जना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने घोषणा गरेको छ।
बिबिसीको रिपोर्ट अनुसार, हमासको सैन्य शाखाले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। जसमा विपिन जोशी, इलौज, योस्सी शराबी र डानियल पेरेट्सको शव समावेश छन् । इजरायली सेनाले यस प्रक्रिया सँगै रेडक्रसलाई गाजाबाट शव संकलन गर्न पठाएको जनाएको छ।
आईडीएफ (इजरायली डिफेन्स फोर्स) र शिन बेट (इजरायली गुप्तचर संस्था) का अनुसार शवहरू गाजाको दक्षिणी क्षेत्रस्थित भेटघाट स्थलमा राखिनेछन् । त्यहीबाट रेडक्रसले ती कफिनहरू ग्रहण गर्नेछन् ।
विपिन जोशीको अवस्था यसअघि अस्पष्ट थियो। हमासले सोमबार मात्र उनको मृत्यु भइसकेको पुष्टि गरेको हो।
नेपालका सुदूरपश्चिमका जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएको थियो। उनी इसराइलमा कृषि प्रशिक्षण कार्यक्रमअन्तर्गत काम गरिरहेका बेला अपहरणमा परेका थिए।
यसअघि विपिनको परिवार तथा इसराइलस्थित नेपाली दूतावाससँग भिडियो कन्फरेन्स गरेर इसराइली सरकारले विपिन जीवित नरहेको जानकारी दिएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका थिए।