बुटवल। रुपन्देही रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले विश्व मानसिक स्वास्थ्य दिवस २०२५ (World Mental Health Day 2025) को अवसरमा “मानसिक स्वास्थ्य सचेतना र SEE विद्यार्थीका लागि My Calm Plan” शीर्षकमा एक विशेष कार्यक्रम बुटवलस्थित दिप बोर्डिङ स्कूलमा आयोजना गरेको छ। करिब ६० जना विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूमा मानसिक सन्तुलन, आत्मविश्वास र सकारात्मक सोच विकास गर्ने उद्देश्यले विविध सत्रहरू सञ्चालन गरियो। कार्यक्रममा न्युरोसायकेट्रिस्ट डा. बिनोद पौडेल र प्रमाणित NLP प्राक्टिसनर श्री रमेश अर्याल संसाधन व्यक्ति (Resource Persons)का रूपमा हुनुहुन्थ्यो ।
कार्यक्रमको अतिथिहरुको रूपमा दिप बोर्डिङ स्कूलका उप–प्रधानाध्यापक सुरेन्द्र शाक्य, रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष रोटेरियन बाबुराम बन्जाडे तथा दिप बोर्डिङ कक्षा ९ र १० का संयोजक कुलबहादुर खम्चा, सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा डा. बिनोद पौडेलले “मानसिक स्वास्थ्य सचेतना” सत्र सञ्चालन गर्दै विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यका आधारभूत पक्ष, तनाव व्यवस्थापन, ध्यान र आत्म–देखभालका उपायबारे विस्तृत जानकारी दिएका थिए। उनले अध्ययनको दबाबबीच पनि आत्मसन्तुलन र सकारात्मक सोच कायम राख्न विद्यार्थीहरूलाई प्रेरित गरे। त्यस्तै श्री रमेश अर्यालले “My Calm Plan” सत्रमार्फत विद्यार्थीहरूलाई आत्मनियन्त्रण, आत्मविश्वास वृद्धि र NLP प्रविधिको माध्यमबाट अध्ययनमा एकाग्रता र मानसिक शान्ति कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा मार्गदर्शन प्रदान गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष रोट्रयाक्टर आबिष्कार खनालले गर्नु भएको थियो। उहाले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढीकरण र आत्मविश्वास अभिवृद्धि रहेको बताउनु भयो। सो अबसरमा दिप बोर्डिङ स्कूलका उप–प्रधानाध्यापक सुरेन्द्र शाक्य, रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष रोटेरियन बाबुराम बन्जाडे ले आ आफ्नो भनाइ राख्नु भएको थियो उक्त कार्यक्रमको सञ्चालन रोट्र्याक्ट क्लब अफ बुटवल डाउन टाउनका सचिव रोट्र्याक्टर केशव पौडेलले गर्नुभएको थियो । कार्यक्रममा क्लबका निर्वाचित अध्यक्ष रोट्र्याक्टर महेश खनाल, बोर्ड सदस्यहरू नविन प्रकाश भण्डारी, धिरज थापा साथै क्लब सदस्य अशोक पोखरेल लगायत क्लबका अन्य सदस्यहरूको सक्रिय उपस्थिति थियो।
कार्यक्रमले विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रति सचेतना जगाउँदै आत्म–देखभाल, तनाव व्यवस्थापन र सकारात्मक सोच विकासका व्यवहारिक उपायहरू प्रदान गरेको छ। रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले भविष्यमा पनि विद्यार्थी र युवामुखी यस्ता शैक्षिक तथा स्वास्थ्य–सम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।