‘जेनजी’ आन्दोलनपछि ५ हजार ६९७ बन्दी अझै फरार

by समतल अनलाइन
81Shares

काठमाडौँ । देशभर चर्किएको ‘जेनजी’ आन्दोलनको क्रममा विभिन्न कारागार र बालसुधार गृहबाट सामूहिक रूपमा भागेका बन्दीमध्ये करिब ५ हजार ६९७ जना अझै फरार रहेका छन्।

कारागार व्यवस्थापन विभागका पछिल्ला तथ्यांक अनुसार कुल १४ हजार ५५३ जना बन्दी भागेका थिए। तीमध्ये ५ हजार ७९ जना कैदी र ६१८ जना बालबन्दी हालसम्म पक्राउ नपरेका हुन्।

‘जेनजी’ प्रदर्शनका बीचमा जेलभित्रै भएको विद्रोह र तोडफोडपछि कैदीबन्दी सामूहिक रूपमा कारागारबाट भागेका थिए। झुम्का, सोलुखुम्बु, महोत्तरी, रौतहट, नख्खु, डिल्लीबजारलगायत २८ वटा कारागार र ९ वटा बालसुधार गृहमा यस्तो घटना भएको विभागले जनाएको छ।

सुरक्षाकर्मीले नियन्त्रणका क्रममा गोली चलाउँदा रामेछापमा तीन र धादिङमा दुई जना कैदीको मृत्यु भएको थियो। त्यस्तै, नौवस्ता बालसुधार गृहमा भएको झडपमा पाँच बालबन्दीको ज्यान गएको थियो।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार सरकारले सञ्चालन गरेको ‘कारागार फिर्ता अभियान’ अन्तर्गत हालसम्म ८ हजार ८५१ जनालाई पुनः नियन्त्रणमा लिइसकिएको छ। तीमध्ये ८,५१० जना कैदी र ३४१ जना बालबन्दी रहेका छन्।

गृह मन्त्रालयले असोज १० गतेसम्म आत्मसमर्पण गर्न ‘अल्टिमेटम’ दिएको भए पनि अझै ठूलो संख्यामा बन्दी सम्पर्कविहीन छन्। मन्त्रालयका अनुसार देशभर फरार बन्दी नियन्त्रणका लागि विशेष सुरक्षा अभियान चलाइएको छ।

प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा नियन्त्रण कार्यदल’ गठन गरिएको छ। उक्त कार्यदलले स्थानीय प्रशासन, प्रहरी र सैनिक बलसँग समन्वय गरेर खोजी कार्य अघि बढाइरहेको छ।

सरकारले कारागारमा फिर्ता नआएका बन्दीमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ। कारागार कार्यालयहरूले पनि पटक–पटक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई आत्मसमर्पण गर्न आग्रह गर्दै आएका छन्।

हाल देशका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा कुल ३० हजार ६४६ जना कैदीबन्दी सजाय भोगिरहेका छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी (पूर्व) र पूर्वी रुकुममा भने कारागार छैन।

You may also like