पोखरा । पोखरा महानगरपालिका–२९ मा नाबालिग बालिकामाथि बलात्कार प्रयास भएको घटनामा स्थानीय स्तरमै उठबस गराएर मिलापत्र गरिएको खुलासा भएको छ।
स्थानीयका अनुसार ३० वर्षीय सुमन भण्डारीले बुधबार राति बालिकाको कोठामा सुटुक्क प्रवेश गरी बलात्कार प्रयास गरेका थिए। बालिकाले बत्ती बाल्दा उनी पक्रिएका र चिच्याएपछि हतारमा मोबाइल छाडेर भागेको बताइएको छ।
भोलिपल्ट पीडित परिवारले घटनाबारे टोल विकास समितिलाई जानकारी गराए। समितिले युवकलाई सामान्य माफी माग्न लगाएर छाडे पनि पीडित परिवार असन्तुष्ट रह्यो। त्यसपछि उनीहरू वडाध्यक्ष श्रीप्रसाद गुरुङकोमा पुगे।
वडाध्यक्ष गुरुङको पहलमा टोल विकास समिति, महिला समूह, स्थानीय अगुवा, आरोपित युवक र पीडित परिवारबीच छलफल गरियो। छलफलपछि वडा सचिवको संलग्नतामा आरोपीलाई २५ पटक उठबस गराई बालिकाको खुट्टा ढोग्न लगाएर मिलापत्र गरिएको हो।
वडाध्यक्ष गुरुङले युवकलाई माफी मगाई अब यस्तो नगर्ने चेतावनी दिइएको र दोहोरिए कानुनी कारबाही हुने निर्णय गरिएको बताए।
तर, कानुनविद्हरूले यो मिलापत्रलाई असंवैधानिक र गैरकानुनी ठहर गरेका छन्। मुलुकी अपराध संहिता, २०७४ अनुसार १४ वर्षभन्दा कम उमेरकी बालिकामाथि बलात्कार वा बलात्कार प्रयास गरेमा ९ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। साथै, तीन वर्षभन्दा बढी कैद सजाय हुने अपराधमा मिलापत्र गर्न नमिल्ने प्रावधान छ।
यस्तै, करणीसम्बन्धी कसुरमा मिलापत्र गराउन सहयोग गर्ने वा गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सार्वजनिक पद धारण गर्ने व्यक्तिले मिलापत्र गराएमा थप ६ महिना कैद सजाय हुने कानुनी व्यवस्था छ।
यसरी गम्भीर अपराधलाई उठबस र मिलापत्रमार्फत टार्ने प्रयासले बाल संरक्षण र कानुनी शासनप्रति गम्भीर प्रश्न उठाएको छ।