चितवनमा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, यात्रु रातभर अलपत्र

by समतल अनलाइन
61Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। साँझ करिब ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले करिब १०० मिटर सडक पूर्णरूपमा ढाकेको छ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक पहिरो खसिरहेकाले तत्काल सडक खुलाउने काम गर्न सकिएन। उनका अनुसार झण्डै १०० मिटर माथिबाट खसेको पहिरोले ठूलो मात्रामा ढुङ्गा र माटो सडकमा थुप्रिएको छ।

बिहान उज्यालो भएपछि मात्र पहिरो पन्छाउने काम सुरु गरिएको छ। दुवैतर्फबाट लोडर परिचालन गरिएको र सेती दोभान क्याम्पबाट स्काभेटर समेत पठाइएको लामिछानेले जानकारी दिए। उनले भने, “यदि थप ठूलो पहिरो नखसेमा चार घण्टाभित्र सडक सफा गरेर सवारी सञ्चालन गर्ने लक्ष्य लिएको छ।”

शुक्रबार दिउँसो पटक–पटक खसेको पहिरो हटाएर सडक सञ्चालन गरिएको थियो। तर साँझ ६ बजेपछि पुनः ठूलो मात्रामा पहिरो खस्दा सडक पूर्ण अवरुद्ध बनेको हो। सडक बन्द भएपछि यात्रुहरू रातभर बाटोमै अलपत्र पर्नु परेको छ।

पहिरो खसेको स्थान मुग्लिन बजारबाट करिब २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्छ।

You may also like

This will close in 0 seconds