काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर तीन हजार ६८१ विपद्का घटना भएका छन् । ती घटनाबाट ६ हजार ५९० घरपरिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता छन् ।
प्राधिकरणका अनुसार ६ महिनाभित्र सबैभन्दा बढी आगलागीका घटना भएका छन् । एक हजार २९५ आगलागीका घटनामा २३ जनाको मृत्यु, १७७ जना घाइते र एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् ।
बाढीका २६३ घटनामा २९ जनाको मृत्यु, २३ जना बेपत्ता, १४ जना घाइते भएका छन् । बाढीका कारण एक हजार ८६१ परिवार प्रभावित भएका छन् । सोही अवधिमा ४६३ पहिरोका घटना दर्ता हुँदा २४ जनाको मृत्यु र ४१ जना घाइते भएका छन् ।
भारी वर्षाका मात्रै ३४० घटना भएका छन् । वर्षाका कारण ६ जनाको मृत्यु, १४ घाइते र ८११ परिवार प्रभावित भएका छन् ।
त्यस्तै, २९० चट्याङका घटनामा ३८ जनाको मृत्यु, २१२ जना घाइते र ३५१ परिवार प्रभावित भएका छन् ।
सर्पदंशका ३०४ घटनामा ७७ जनाको मृत्यु र २३३ जना घाइते भएका छन् । वन डढेलोका १८५ घटनामा दुई जना घाइते र २७ परिवार प्रभावित भएका छन् ।
६ महिनामा २८४ हावाहुरीका घटना दर्ता हुँदा आठ जनाको मृत्यु, ४४ जना घाइते र ५४१ परिवार प्रभावित भएका छन् । यस्तै, जनावरको आक्रमणबाट २१७ घटना दर्ता भएका छन् । ती घटनामा २० जनाको मृत्यु, ८८ जना घाइते र ३६६ परिवार प्रभावित भएका छन् ।
विपद्बाट हुने क्षति कम गर्न पूर्वसावधानी, सचेतना अभियान र पूर्वसूचना प्रणालीलाई अझै व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।