बुटवलमा लुम्बिनी प्रदेशमै पहिलो एसएसडब्लु बुटवल जापानी भाषा प्रशिक्षण केन्द्र सञ्चालनमा

by समतल अनलाइन
106Shares

बुटवल । जापानमा रोजगारी र अध्ययन गर्न इच्छुक युवाका लागि बुटवल–९, राजमार्ग चौराहामा एसएसडब्लु बुटवल तालिम केन्द्र प्रा. लि. औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

शुक्रबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको यो तालिम केन्द्र बुटवलका चार जना युवा व्यवसायी राजेन्द्र श्रेष्ठ, गोविन्द बस्नेत, बासुदेव न्यौपाने र ओमप्रकाश श्रेष्ठको संयुक्त लगानीमा स्थापना भएको हो ।

यस जापानी भाषा प्रशिक्षण मार्फत जापानी भाषा तालिम एन–५ देखि एन–३ स्तरसम्मका कक्षासहित जेएफटी जेएलपीटी परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि शैक्षिक परामर्श संघका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य देव कुन्वरले विदेश जानुअघि भाषामा दक्ष हुनु अनिवार्य हुने बताएका थिए । उनले भने भाषा बिना विदेशमा पुग्दा समस्या हुन्छ । त्यसैले बुटवलमा सञ्चालनमा आएको यो एसएसडब्लु तालिम केन्द्र युवाका लागि उपयोगी र समयानुकूल रहनेछ ।o

त्यसैगरी, इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेले नेपाल सरकार शिक्षा मन्त्रालयले तोकेको भन्दा बढी शुल्क नलिने प्रतिबद्धता जनाउँदै भने कानुनी रूपमा मर्कामा पार्ने काम हुँदैन विद्यार्थी वा अभिभावकलाई दुःख दिने काम पनि हुँदैन ।

संचालक गोविन्द बस्नेतले जापानमा काम गर्न भाषा मात्र नभई संस्कृतिको ज्ञान पनि अत्यावश्यक हुने बताए । उनका अनुसार जापानी कम्पनीमा काम गर्न भाषा र कार्यसंस्कृति बुझ्नैपर्छ । यही कारण यस तालिम केन्द्रले युवालाई थप प्रतिस्पर्धी बनाउनेछ ।

लुम्बिनी प्रदेशमै पहिलोपटक सुरु भएको यो तालिम केन्द्रले जापान रोजगारीमा जान चाहने युवालाई भाषा र सीपमा दक्ष बनाई एसएसडब्लु भिसाका लागि तयार पार्ने लक्ष्य लिएको छ ।

You may also like