फेसबुक, एक्स, युट्युबलगायतका २६ सञ्जाल बन्द गर्ने सरकारको निर्णय

by समतल अनलाइन
77Shares

काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै नेपालमा सूचीकरण हुन नआएका फेसबुक, ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले सूचीकरण हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको मन्त्रालयस्रोतले बतायो। यद्यपि यसको आधिकारिक जानकारी भने मन्त्रालयले गराएको छैन।

सरकारले गरेको यो निर्णय दूरसञ्चार प्राधिकरणमार्फत आजै कार्यान्वयन हुने भनिएको छ। सरकारले यस्तो निर्णय लिँदा ‘सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न’ भनिएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमन गर्न आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो। सर्वोच्चले विदेशी प्रसारण संस्थाले नेपालमा प्रसारण गर्न अनुमतिपत्र लिनुपर्ने र सरकारलाई आवश्यक कानुन निर्माण गर्न परमादेश दिएको थियो।

You may also like