१४ वर्षपछि नमस्ते नेपाल रूपन्देहीको दोस्रो महाधिवेशन भदौ ७ मा हुने

by समतल अनलाइन
75Shares

बुटवल। सामाजिक संस्था नमस्ते नेपाल रूपन्देहीले भदौ ७ गते दोस्रो महाधिवेशन गर्ने भएको छ। स्थापना भएको १४ वर्ष पुगेको अवसर पारेर महाधिवेशनको तयारीमा जुटिरहेको संस्थाले विशेष लोगो समेत सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको उक्त लोगोमा “२” अंकभित्र नेपालको नक्शा, संस्थाको स्थापना वर्ष २०६८ र हात जोडिएको ‘नमस्ते’ चिन्ह समेटिएको छ। यसले राष्ट्रिय एकता, सामाजिक समर्पण र संस्था स्थापनाको भावना झल्काउँछ।

संस्थापक अध्यक्ष अर्जुन खरेलले नमस्ते नेपालको यात्रा युवाको विचार, साहस र सेवाको प्रतिबिम्ब भएको बताए। उनले भने, १४ वर्षअघि सुरुवात गरेको हाम्रो सानो प्रयास आज राष्ट्रिय रूप लिन थालेको छ। यो हाम्रो साझा सम्पदा हो। अबको महाधिवेशनले संस्थालाई अझ सबलीकरण गर्नेछ। उनले संस्थाको अभियानमा सहकार्य, पारदर्शिता र समर्पणको संस्कारलाई अझ मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरे।

महाधिवेशनका संयोजक तथा नमस्ते नेपालका केन्द्रिय अध्यक्ष मनिष भुसालका अनुसार, संस्था स्थापना कालदेखि नै युवाहरूबीच सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। उनका अनुसार हालसम्म संस्थाले मधेस, गण्डकी र लुम्बिनी गरी तीन प्रदेशमा शाखा विस्तार गरिसकेको छ।

विविध सामाजिक काम, युवा अभिप्रेरणा कार्यक्रम र जनचेतनामूलक अभियानमार्फत संस्था निरन्तर लोकप्रिय बन्दै गएको छ, अध्यक्ष भुसालले बताए।

महाधिवेशनमा देशभरका प्रतिनिधिहरू, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने आयोजक पक्षले जनाएको छ। कार्यक्रममा आगामी कार्ययोजना, संस्थागत सुदृढीकरण, नेतृत्व चयन लगायतका विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ।

You may also like