वर्षातका बीचमा पनि आगलागी: विपद्का अन्य घटनाले समेत जनधनको ठूलो क्षति

by समतल अनलाइन
Shares

काठमाडौं ।वर्षा भइरहेको बेला आगलागी हुँदैन भन्ने सामान्य अनुमान हो । तर पछिल्ला तथ्यांक हेर्दा यस्तो सोच गलत देखिएको छ । सक्रिय मनसुनका बीच पनि देशका विभिन्न स्थानमा आगलागीका घटनाले जनधनमा उल्लेख्य क्षति पुर्‍याइरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल देशभर वर्षा भइरहे पनि आगलागीका घटना रोकिएको छैनन् । साउन ३ गते बिहान १० बजेदेखि ४ गते बिहान १० बजेसम्मको २४ घण्टामा मात्र ६ वटा आगलागीका घटना भएका छन्, जसबाट ६ जनाको मृत्यु र १ जना घाइते भएका छन् । यी घटनाबाट ४० परिवार प्रभावित भएका छन् ।

२०७८ सालको वैशाखदेखि साउन ४ गतेसम्मको अवधिमा देशभर ९६९ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १४ जनाको मृत्यु, १४० जना घाइते र १,०७९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

सोही अवधिमा १५८ वटा वन डढेलोका घटना रेकर्ड भएका छन् । डढेलोमा परेर २ जना घाइते हुँदा २७ घरपरिवार प्रभावित भएका छन् ।

त्यस्तै, हावाहुरीका २७३ वटा घटना हुँदा ८ जनाको मृत्यु, ३९ जना घाइते र ५३१ परिवार प्रभावित भएका छन् ।

सर्पदंशका ६३ वटा घटनामा ५ जनाको ज्यान गएको र ६४ जना घाइते भएको उल्लेख छ । सर्पदंशले ७० परिवार प्रभावित बनाएका छन् ।

देशभर बाढीका १३७ वटा घटना भएको विवरणमा उल्लेख छ । बाढीमा परेर १३ जनाको मृत्यु, २० जना बेपत्ता, र १,२४६ परिवार प्रभावित भएका छन् ।

१८३ वटा पहिरोका घटनामा ७ जनाको मृत्यु, ९ जना घाइते र १९९ परिवार प्रभावित भएका छन् ।

यसै अवधिमा २२४ पटक परेको चट्याङबाट २८ जनाको ज्यान गएको, १६० जना घाइते भएको र २६० परिवार प्रभावित भएको जानकारी प्राप्त छ ।

मनसुनको समयमा मात्र नभइ समग्र रूपमा विभिन्न किसिमका विपद्हरूबाट जनधनको ठूलो क्षति भएको देखिन्छ । यसबीचमा लेक लागेर ११ जनाको मृत्यु र जनावरको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ ।

You may also like

This will close in 0 seconds