बुटवल । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटनाबाट ५०६ जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष ४९६ जनाको ज्यान गएकोमा यो वर्ष ९ जनाले बढी मृत्यु भएको हो । उक्त वर्ष ५ हजार ६९१ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी यो तथ्यांक सार्वजनिक गरेको हो । अघिल्लो वर्ष १ हजार १२० वटा सवारी दुर्घटना भएका थिए भने यो वर्ष ३ हजार ४७९ पुगेको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार अघिल्लो वर्ष सामान्य दुर्घटनाको तथ्यांक समेटिएको थिएन तर यो वर्ष सामान्यदेखि गम्भीरसम्मका सबै दुर्घटनालाई समावेश गरिएकोले संख्या बढी देखिएको हो । गत वर्ष ट्राफिक प्रहरीले सवारी चेकजाँच र निगरानी कडा पारे पनि दुर्घटनाको संख्या भने घट्न सकेको छैन ।

आर्थिक वर्ष २०८१/८२ मा सवारी नियम उल्लंघन गर्ने १ लाख ७० हजार ८० वटा सवारीसाधनबाट १७ करोड ८३ लाख ८३ हजार ४११ रुपैयाँ जरिवाना संकलन गरिएको छ । अघिल्लो वर्ष २ लाख ३३ हजार ९६ सवारीसाधन कारबाहीमा पर्दा १७ करोड ४२ लाख ३७ हजार ५०३ रुपैयाँ जरिवाना उठाइएको थियो । कारबाहीमा पर्ने सवारीसाधनको संख्या घटे पनि जरिवाना दर बढेकाले रकम बढी संकलन भएको शर्माले बताए । पहिला एउटै सवारीसाधनलाई गन्तव्यमा नपुग्दासम्म अनेकौं ठाउँमा दोहोरिएर कारबाही गरिन्थ्यो ।
अहिले एक पटक कारबाहीमा परेको सवारीलाई अर्को चेकपोइन्टमा कारबाही नगरिने नियम लागु भएपछि संख्या घटेको हो । सबैभन्दा बढी कारबाही रुपन्देहीमा भएको छ । यहाँ ५० हजार ४४१ सवारीसाधनबाट ६ करोड ८ लाख ४९ हजार १२ रुपैयाँ जरिवाना संकलन गरिएको छ । त्यसमा राजमार्ग ट्राफिक कार्यालय बुटवलमार्फत १ करोड १८ लाख ८७ हजार ३ रुपैयाँ र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीमार्फत ४ करोड ८९ लाख ६२ हजार ९ रुपैयाँ संकलन भएको हो ।
बाँकेमा ३७ हजार ४३५ सवारीसाधनबाट ३ करोड २७ हजार ५०३ रुपैयाँ, दाङमा २१ हजार ५९० सवारीसाधनबाट २ करोड ३१ लाख ६० हजार रुपैयाँ, कपिलवस्तुमा १३ हजार ५६१ सवारीसाधनबाट १ करोड ४५ लाख ५० हजार रुपैयाँ, पश्चिम नवलपरासीमा ८ हजार ३०० सवारीसाधनबाट १ करोड ६ लाख ९ हजार रुपैयाँ जरिवाना उठाइएको छ । त्यस्तै बर्दियामा १२ हजार ३७८ सवारीसाधनबाट ९५ लाख ७० हजार, पाल्पामा ६ हजार १६८ सवारीसाधनबाट ७३ लाख ५१ हजार ४५०, प्युठानमा ४ हजार ४९१ सवारीसाधनबाट ५२ लाख ६५ हजार, रोल्पामा ४ हजार ३५२ सवारीसाधनबाट ५१ लाख ७ हजार ९४०, गुल्मीमा ५ हजार ३७८ सवारीसाधनबाट ४४ लाख ३० हजार ५००, अर्घाखाँचीमा ३ हजार ६३ सवारीसाधनबाट ४२ लाख ३० हजार र रुकुम पूर्वमा २ हजार ९२३ सवारीसाधनबाट ३२ लाख ३३ हजार रुपैयाँ जरिवाना संकलन गरिएको हो । यस्तै यातायात कार्यालयमार्फत कारबाहीमा परेका २७३ सवारीसाधनबाट ३८ लाख ८५ हजार ८४५ रुपैयाँ जरिवाना संकलन भएको र ८४ लाख ९ हजार रुपैयाँ अझै उठ्न बाँकी रहेको प्रहरीले जनाएको छ ।