लुम्बिनी फोटोग्राफर संघको अन्तक्रिर्या सम्पन्न — प्रविधिमैत्री कार्ययोजना, रेट परिमार्जन र तालिममा जोड

by समतल अनलाइन
Shares

बुटवल । लुम्बिनी फोटोग्राफर संघ, बुटवल क्षेत्रले फोटोग्राफरहरूको सशक्तिकरण, प्रविधिसँगको समायोजन र व्यवसायिक मापदण्ड निर्माणमा केन्द्रित भई बुटवलको सुख्खानगरस्थित चिया चौतारीमा एकदिने अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सम्पन्न उक्त कार्यक्रम फोटोग्राफी क्षेत्रसँग आबद्ध व्यवसायीको सक्रिय सहभागितामा सम्पन्न भयो।

संघका अध्यक्ष दिनेश अर्यालले नयाँ पुस्तासँग सहकार्य गर्दै फोटोग्राफी क्षेत्रमा सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य रहेको बताए। संघको आगामी योजना अन्तर्गत भिडियोग्राफी तालिम, रेट मापदण्ड निर्धारण, तालिममूलक अभियान र प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

नेपाल फोटोग्राफर संघका सदस्य तथा कार्यक्रमका सल्लाहकार माधव पन्तले संस्थागत तालिम र दक्षता विकासमा जोड दिए। उनले एडभान्स फोटोग्राफी तथा भिडियोग्राफी तालिम आयोजना गर्दै स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रम विस्तार गर्न लागिएको जानकारी दिए।

निवर्तमान अध्यक्ष मनिष पन्थले प्रविधिमैत्री र परिवर्तनशील बन्ने आग्रह गर्दै भने, “हिजो हामी रिलबाट फोटो खिच्थ्यौं, आज डिजिटल प्रविधिमा अभ्यस्त हुनुपर्छ। समय अनुसार परिमार्जन हुन नसके संस्था टिक्दैन।

कार्यक्रममा बुटवल क्षेत्रका संयोजक थानप्रसाद डुम्रेले वर्तमान फोटोग्राफी क्षेत्रको चुनौती, सम्भावना र सुधारका पक्षमा धारणा राखेका थिए। संयोजक डुम्रेको भनाइमा संस्थाको संगठनात्मक सुदृढीकरणका लागि स्थानीय तहसँगको समन्वय, सदस्यबीचको एकता र व्यावसायिक नैतिकता अपरिहार्य विषय हुन्।

संघका महासचिव त्रिभुवन पाण्डेले सबै पक्षमा समान सोच र सहकार्यको खाँचो औंल्याउँदै, यस्ता कार्यक्रमले संस्थालाई स्पष्ट दृष्टिकोण दिन सहयोग गर्ने बताए।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष माधव प्रसाद पन्त (सानो) ले हाल फोटो तथा भिडियो सेवाको मूल्यमा बजारमा विविधता र प्रतिस्पर्धा बढेकाले संघले पनि समयसापेक्ष र व्यावसायिक दररेट निर्धारण गर्नु आवश्यक रहेको धारणा राखे। “अब हामीले आफैं स्पष्ट दर बनाउने बेला आएको छ,” उनले भने, “बजारले मागेको गुणस्तर अनुसार रेट बनाउनु जरुरी छ।

कार्यक्रममा सहभागिहरूले यस्ता अन्तक्र्रियाले फोटोग्राफरहरूलाई आत्मपरिक्षण, क्षमता अभिवृद्धि र सामूहिक नीति निर्माणमा टेवा दिने धारणा राखेका थिए। सहभागीहरूका अनुसार संघले व्यवसायिक हित र सदस्यहरूको संरक्षणका लागि अझ प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औल्याएका थिए।

You may also like