बुटवलमा प्रतिबन्धित जडिबुटीसहित एक व्यक्ति पक्राउ

by समतल अनलाइन
Shares

बुटवल । बुटवल उपमहानगरपालिका–२ स्थित भिमसेन टोलमा अवैध रूपमा प्रतिबन्धित जडिबुटी संकलन तथा सञ्चय गरिरहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बिहीबार बिहान उक्त घरमा छापा मार्दै लाखौं रुपैयाँ मूल्य बराबरका विभिन्न दुर्लभ जडिबुटी बरामद गरेको हो।

प्रहरीका अनुसार जुम्ला जिल्लाको कन्कासुन्दरी गाउँपालिका–४ निवासी ४८ वर्षीय सुकबहादुर बुढा बुटवलमा अहमद्दीन अलीको घर भाडामा लिएर बस्दै आएका थिए। उनैले ती जडिबुटी संकलन गरी बेचबिखन गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको विशेष टोलीले सुकबहादुर बुढा बस्ने कोठाबाट बोरा र प्लास्टिकका बाल्टिनमा राखिएको अवस्थामा ठूलो परिमाणमा जडिबुटी बरामद गरेको हो। बरामद सामग्रीमा पाँचऔंले ५ हजार ६ सय ३५ वटा भेटिएको छ, जसको कुल तौल १६ किलो १ सय ग्राम रहेको र बजार मूल्य करिब २८ लाख १७ हजार ५ सय रुपैयाँ बराबर पर्ने अनुमान गरिएको छ।

त्यस्तै, प्रहरीले थप अनुसन्धानका क्रममा ९ किलो ६ सय ग्राम कुट्की, ५ थान गिद्धसिंगे र ३ थान रुद्राक्ष पनि बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार बरामद जडिबुटीहरू नेपाल सरकारद्वारा प्रतिबन्धित सूचीमा पर्ने वनस्पति हुन्। “जडिबुटीहरू दुर्लभ र संरक्षित प्रजातिका हुन्,” उनले भने, “थप अनुसन्धानका लागि बरामद सामानहरू सैनामैना सब–डिभिजन बन कार्यालयमा बुझाइएको छ।”

साथै, घटनासँग सम्बन्धित थप व्यक्ति या समूह संलग्न हुन सक्ने शङ्कामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। बुढामाथि वन ऐनअनुसार कारवाही अघि बढाउने तयारी भइरहेको छ।

You may also like