द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र गठन

by समतल अनलाइन
Shares

लिस्बन। नेपालको नीति अनुसन्धान, शान्ति प्रक्रिया, विकास रणनीति र समसामयिक बहसलाई सशक्त बनाउन अन्तर्राष्ट्रिय नेपाली समाज अन्तर्गत ‘अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र’ (International Nepal Think Tank – INTT) स्थापना गरिएको छ। केन्द्रको नेतृत्वमा विश्वविख्यात द्वन्द्व तथा शान्ति व्यवस्थापन विज्ञ डा. बिष्णु राज उप्रेती चयन हुनुभएको छ।

डा. उप्रेतीले विगत साढे दुई दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्व व्यवस्थापन, शान्ति निर्माण, राज्य पुनःसंरचना, खाद्य सुरक्षा तथा सामाजिक न्यायका क्षेत्रमा नीति निर्माण र अनुसन्धानमा सशक्त भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँले उत्तर विद्यावारिधि (Postdoctoral Research) किङ्स कलेज तथा सुरी विश्वविद्यालय, बेलायतबाट गर्नुभएको हो भने विद्यावारिधि (PhD) र स्नातकोत्तर (MSc) वाजेनिन्जेन विश्वविद्यालय, नेदरल्याण्ड्सबाट क्रमशः द्वन्द्व व्यवस्थापन र कृषि ज्ञान कार्यकौशल व्यवस्थापन (Agricultural Knowledge Systems Management) मा गर्नुभएको हो। साथै, स्नातक (BSc) तहको अध्ययन कृषि अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गर्नुभएको हो।

नेपाल नीति अनुसन्धान प्रतिष्ठान (Policy Research Institute) मा कार्यकारी अध्यक्षको रूपमा सेवा पुर्‍याइसक्नुभएका डा. उप्रेतीले ६० भन्दा बढी पुस्तकहरू प्रकाशन गर्नुभएको छ । जसमा शान्ति प्रक्रिया, सामाजिक रूपान्तरण, प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक समावेशिता लगायतका विषय समेटिएका छन्। उहाँले बेलायतका प्रख्यात विश्वविद्यालयहरूमा अध्यापन गर्नुका साथै विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरू तथा नेपालका काठमाडौँ विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थीहरूलाई अध्यापन गरिसक्नुभएको छ। अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र एक समावेशी नीति–अनुसन्धान संस्था हो, जसले नेपाली र प्रवासी विज्ञ, बुद्धिजीवी, अनुसन्धानकर्ता तथा विकासकर्मीहरूलाई एकजुट गराई नेपाल–केन्द्रित बहुआयामिक नीति बहस र समाधान प्रवाह गर्ने उद्देश्य राखेको छ।

डा. उप्रेतीको नेतृत्वमा यो केन्द्रले वैश्विक अनुभव, तथ्यमा आधारित अनुसन्धान र सहभागी संवादको माध्यमबाट नीति निर्माण प्रक्रियामा प्रभावकारी योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।डा. उप्रेती भन्नुहुन्छ — “हामीले नेपालमा सर्वाङ्गीण समृद्धि, समानता र न्यायका लागि अनुसन्धान र चिन्तनलाई व्यावहारिक कार्यनीतिमा रूपान्तरण गर्नुपर्छ। अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र त्यसै दिशातर्फको पहल हो।”

अन्तर्राष्ट्रिय नेपाली समाज (INS) का अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेले भन्नुभयो- “नेपालको नीति अनुसन्धान, शान्ति प्रक्रिया, सर्वाङ्गीण विकास रणनीति र समसामयिक बहसलाई सशक्त बनाउन अन्तर्राष्ट्रिय नेपाली समाज (INS) अन्तर्गत ‘अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र’ (International Nepal Think Tank – INTT) स्थापना गरिएको हो।” उहाँले थप स्पष्ट पार्नुभयो कि, विश्वका १२३ देशमा फैलिएको र ८३ देशमा सक्रिय राष्ट्रिय समितिहरू रहेको अन्तर्राष्ट्रिय नेपाली समाज (INS) ले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सर्वाङ्गीण हित र भलाइका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। INS ले शिक्षा, स्वास्थ्य, आपत्कालीन उद्धार, नीति बहस, नेतृत्व विकास, र सामाजिक न्यायजस्ता विषयहरूमा क्रियाशील रही अन्तर्राष्ट्रिय नेपाली समुदायलाई एकताबद्ध बनाउँदै आएको उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

You may also like