गुल्मी । चार सय मुरी धान फलाउने गुल्मी धुर्कोट गाउँपालिका–६ सिस्तुङ्गका ५४ वर्षीय मेघनाथ अर्याललाई धुर्कोट गाउँपालिकाले नगद ६७ हजार रुपियाँसहित सम्मान गरेको छ ।
गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत धुर्कोट गाउँपालिकाले कृषिका विभिन्न पाँच विधामा व्यवसायीक उत्पादन गरेका मध्येबाट उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्ने गरेको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो ।
कृषि र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले धानबाली तर्फ अर्याललाई सम्मान गरिएको पन्थीले बताउनुभयो । कोरियामा तीन वर्ष काम गरेर बुटवलमा बस्दै आउनु भएका मेघनाथ अर्यालले २०७७ सालदेखि माटोमै समृद्धिको सपनासहित कृषि कर्म गरिरहनुभएको छ ।
उहाँले आफ्नो ७२ रोपनी र लिजमा लिएको २८ गरेर एक सय रोपनी खेतमा धान खेती गरेर गत वर्ष चार सय मुरी धान भित्र्याएको दाबी गर्नुभयो ।
अर्यालले गत असारमा पञ्चेबाजासहित ९२ खेताला, २७ ठिँगारे (मेलो बनाउने मान्छे) र तीन ठुलो ट्याक्टर प्रयोग गरेर एकै दिन एक सय रोपनीमा रोपाइँ गर्नुभएको थियो । सम्मानित हुँदै अर्यालले आफु काम गरेर खाने मान्छे भएकाले कहिल्यै हुँदैन र सकिँदैन भन्ने मान्यतामा विश्वास नगर्ने बताउनुभयो ।
उहाँले धुर्कोट गाउँपालिकासहित सरकारका सबै निकायबाट सम्भव भएसम्म सहयोग पाएकाले अहिलेको अवस्थामा पुगेको बताउँदै किसानले जङ्गली जनावरबाट कृषि उजप जोगाउन नसकेको गुनासो गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले परदेश र गाउँको सुख छोडेर अर्यालले गाउँमा गरेको कृषि र पशुपालन निकै उदाहरणीय रहेको बताउनुभयो । धुर्कोट गाउँपालिकाले अर्याललाई गरेको सम्मानले समग्र किसानलाई उर्जा प्राप्त हुने भएकाले सबै स्थानीय तहले अनुसरण गर्न आग्रह गर्नुभयो ।
कृषक अर्यालले अहिले भर्खरैबाट धुर्कोटे चामलको ब्राण्डिङ्ग गरेर बजारिकरण गरिरहनु भएको छ । धुर्कोट गाउँपालिकाको आर्थिक तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा स्थानीय जातको धानबाट प्रशोधन गरेर चामललाई प्याकेजिङ्ग, ब्राण्डिङ्ग गरेर बजारमा पठाउन सुरु गरिएको छ ।
गाउँपालिका, हेफर प्रोजेक्ट र आफ्नो लगानीमा अर्याल खाद्यान्य प्रशोधन तथा प्याकेजिङ्ग उद्योग सञ्चालन गरिएको छ । जसले धुर्कोटे स्थानीय चामम नामले बजार पठाउन सुरु गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट सबै प्रक्रिया पूरा गरेर चामल बिक्री वितरण सुरु गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । उहाँले पालिकाले प्रविधि, उद्योग सञ्चालनसँगै चामल प्याकेजिङ्ग तथा बजारिकरणमा सहयोग गरेको बताउनुभयो ।
पोख्रेलले गाउँमा कृषिको सम्भावना बढि भए पनि किसानहरु बाँदर र बँदेललगायतका कारणले उठिबास हुने अवस्था रहेको बताउनुभयो ।