काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (मंगलबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। ती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो पानी परेको छ। पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै नवलपरासी पूर्वमा एक सय ५९ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै रुपन्देही र चितवनमा पनि ७० मिलिमिटरभन्दा धेरै पानी परेको छ।
बाढी पूर्वानुमान महाशाखाले नवलपरासीको दुम्कौली र परासी आसपास भएर बग्ने साना खोलामा बाढीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। यस्तै कावासोती र गिरिउवारी क्षेत्र आसपासका खोलामा पनि बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा गए राति मध्यम वर्षा भएको छ।