त्रिकोणात्मक टी–२० सिरिज : आज नेपाल र नेदरल्याण्ड्स आमने–सामने

by समतल अनलाइन
Shares

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डको डन्डीमा जारी सिरिजमा आजको खेलमार्फत नेपालले आफ्नो अभियान सुरू गर्न लागेको हो ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे शुरू हुनेछ । पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरिसकेको छ ।

नेपालका लागि भने आजको खेल सिरिजको पहिलो प्रतिस्पर्धा हो । यसअघि सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमै भएको एकदिवसीय सिरिजमा नेपालले शानदार प्रदर्शन गर्दै चारमध्ये तीन खेलमा जित हात पारेको थियो । सोही सफलताको लयलाई निरन्तरता दिने लक्ष्यसहित नेपाली टोली मैदान उत्रन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० सिरिजका लागि कप्तान रोहित पौडेलको नेतृत्वमा टोलीको घोषणा गरिसकेको छ । लिग–२ मा खेलिसकेका अधिकांश खेलाडीलाई यसपटक पनि निरन्तरता दिइएको छ ।

तर, चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाट बाहिरिएका छन् । उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई टोलीमा समावेश गरिएको छ । तीमध्ये किरणले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् भने रुपेश डेब्यूको पर्खाइमा छन् ।

सिरिजमा नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्ड सहभागी छन् । प्रतियोगिताको अन्तिम खेल असार ५ गते (जुन १९) हुनेछ । यो सिरिज नेपाली टोलीका लागि आगामी टी–२० विश्वकप तयारीको हिस्सा पनि मानिएको छ ।

You may also like