बुटवल । रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पतालको सहयोगमा अत्याधुनिक रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) स्थापना गर्ने भएको छ। अस्पतालको परिसरमै बन्ने यो केन्द्र नेपालकै नमुना हुने दाबी गरिएको छ।
संघले मङ्गलबार पत्रकार सम्मेलन गरी ब्लड बैङ्क निर्माणका लागि १ करोड ५८ लाख २० हजार रुपैयाँ लगानी गरिएको जानकारी दिएको हो।
संघका अध्यक्ष दीपक प्रसाद अधिकारीका अनुसार, केन्द्रको उद्घाटन जेठ १७ गते बिहान ८ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबाट हुनेछ। उद्घाटनकै दिन अस्पताल हाताभित्रै ठूलो रक्तदान कार्यक्रम पनि आयोजना गरिनेछ।
अध्यक्ष अधिकारीले बताएअनुसार, अस्पतालले ब्लड बैङ्क बन्ने स्थानको संरचना तयार पार्नेछ भने संघले केन्द्र सञ्चालनका लागि आवश्यक उपकरणहरू उपलब्ध गराउनेछ। अस्पताल परिसरभित्र बन्ने ब्लड बैङ्कको भोगाधिकार, सुरक्षा र व्यवस्थापनको जिम्मा अस्पतालकै हुनेछ।
दुवै पक्षको सहमतिमा सरकारको राष्ट्रिय नीतिअनुसार केन्द्र सञ्चालनका लागि आवश्यक कार्यविधि, समिति र नियमावली तयार गरिने जनाइएको छ।
संघले ब्लड बैङ्कमा आधुनिक प्रविधियुक्त उपकरणहरू प्रयोग गरिने जानकारी दिएको छ। जर्मनमा निर्मित अत्याधुनिक मेशिनहरू जडान गरिने र एकै पटक एक हजार युनिट (पोका) रगत सङ्कलन तथा भण्डारण गर्न सकिने क्षमता केन्द्रमा हुने छ।
संघका महासचिव फरसुराम पन्तले ब्लड बैङ्कको स्थापना व्यापार संघको सामाजिक उत्तरदायित्व अन्तर्गतको ठूलो योजना भएको बताए। आगामी दिनमा पनि ब्लड बैङ्कलाई अझ स्तरीय बनाउने जिम्मेवारी संघले लिने उनले बताए।