लुम्बिनीमा नियमावली संशोधनप्रति कर्मचारी सङ्गठनको आपत्ति, सरकारसँग छलफल

Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले संशोधन गर्न लागेको निजामती सेवा नियमावलीको सन्दर्भमा नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनी प्रदेशले ध्यानाकर्षण गराएको छ।
नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनीले प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री भौतिक पूर्वाधार विकास मन्त्री,स्वास्थ्य मन्त्री, मुख्य सचिव, अर्थ मन्त्रालयका सचिव, स्वास्थ्य सचिव, मुख्यमन्त्री कार्यालयका सचिव लगायतलाई भेटेर नियमावलीको विषयमा छलफल गर्नुका साथै केही कुरामा ध्यानाकर्षण गराइएको नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनी अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए।

अन्य प्रदेशको तुलनामा लुम्बिनीमा निजामती ऐन तथा नियमावली लगायतका कुराहरू द्रुत गतिमा अगाडि बढेको भन्दै अझै आवश्यक समन्वय तथा महत्त्वपूर्ण निर्णयमा आफूहरूको राय सम्बोधन गर्न आग्रह गरिएको आचार्यले बताए।
छलफलमा मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती कर्मचारी सरकारको मूल खम्बा भएको बताउँदै निजामती सम्बन्धी ऐन कानुन नियमावली लगायतमा सरकार सतर्क रहेको बताए।
छलफलमा प्रदेश अध्यक्ष आचार्यसहित केन्द्रीय आयोग सदस्य खगराज उपाध्याय, केन्द्रीय प्रतिनिधि प्रेम गौतम, सल्लाहकार शेरबहादुर के सी, कोषाध्यक्ष श्रीधर पाण्डे, सचिवालय सदस्य दिवाकर पन्थी, अग्निधर पोख्रेल लगायतको प्रतिनिधि मण्डलले सरकारी पक्षसँग भेटघाट तथा छलफल गरेको थियो।
यसैबीच सङ्गठनको प्रदेश कार्यालय दाङ देउखुरीमा स्थापना भएको छ।

सङ्गठनका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता तथा केन्द्रीय आयोग सदस्य खगराज उपाध्यायको प्रमुख आतिथ्यता तथा केन्द्रीय प्रतिनिधि प्रेम गौतम र सल्लाहकार शेरबहादुर केसीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यालय स्थापना भएपछि सङ्गठनका गतिविधि थप चलायमान हुने अध्यक्ष आचार्यले जनाएका छन् ।

You may also like