कावासोती । नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भासिएपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग राति अबेर अस्थायी रुपमा सञ्चालनमा आएको छ।
मकवानपुरको होङ्सी सिमेन्ट कम्पनीबाट किलिङ्गर बोकेर वीरगञ्जतर्फ जाँदै गरेको ना.प्र.०३–००१ क ३१६३ नम्बरको १८ चक्के टेलर पुलमा हिँड्दाहिँड्दै भासिएपछि सोमबार दिउँसोदेखि यातायात पूर्णरुपमा अवरुद्ध भएको थियो।

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेका अनुसार अहिले खोलामा पानी नभएकाले अस्थायी डाइभर्सन बनाएर साना तथा यात्रुवाहक सवारी सञ्चालनमा ल्याइएको हो। “खोलामा डाइभर्सन बनाएर अहिले साना गाडी चलिरहेका छन्, तर भारी मालवाहक सवारीका लागि मोड पर्याप्त नभएकाले ती गाडीहरू रोकिएका छन्,” पाण्डेले बताए।
उनका अनुसार खोलामा बाढी आएमा अहिले सञ्चालन भइरहेका सवारी साधन पनि रोकिन सक्नेछ। “वर्षा वा बाढी आयो भने अस्थायी रूपमा सञ्चालनमा आएका गाडीहरू पनि रोकिन सक्छन्,” उनले भने।
घटनापछि पुलको स्थलगत अवस्था अध्ययन गर्न काठमाडौँबाट सडक विभागका प्राविधिक टोली आउँदैछन्। “प्राविधिक टोली आएर पुलको अवस्था अध्ययन गरेपछि मर्मत सम्भव छ वा छैन भन्नेबारे निर्णय हुनेछ,” पाण्डेले जानकारी दिए।
हाललाई ठूला, लामो तथा भारी मालवाहक सवारी साधनका लागि पूर्व–पश्चिम राजमार्गको यो खण्ड सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको उनले स्पष्ट पारे।