तिलोत्तमामा पत्रकारका लागि १ दिने क्षमता विकास अभिमुखीकरण कार्यक्रम

Shares

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाको आयोजनामा र नमस्ते लुम्बिनी सञ्चार प्रालिको संयोजनमा पत्रकारहरूको क्षमता विकासका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सञ्चार प्रालिका सञ्चालक चण्डी बस्यालका अनुसार करिब ५० जना पत्रकारको सहभागिता रहेको थियो।

स्थानीय तहका मुद्दा उठान र जनताको हक–अधिकार तथा जिम्मेवारीबारे सुसूचित गराउन पत्रकारलाई सक्षम बनाउन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त डा. सुरेश आचार्यले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीको विशेष आतिथ्यमा सम्पन्न भयो। नगरप्रमुख खाणले पत्रकारिता राष्ट्रको तेस्रो आँखाका रूपमा रहेकाले सत्य र तथ्यमा आधारित खोज पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता तालिमहरूले जनप्रतिनिधिलाई सचेत गराउन र समृद्धि यात्रामा देशलाई अगाडि बढाउन सहयोगी हुने उल्लेख गर्नुभयो।

त्यसैगरी, उपप्रमुख चौधरीले राजनीति भन्दा माथि उठेर निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताउनुभयो। उहाँले नयाँ पत्रकारहरूलाई आकर्षित गर्दै पत्रकारिता क्षेत्रको समग्र विकासमा स्थानीय तह सधैं प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले पत्रकारितालाई संविधानले तोकेको चौथो अंग भएको बताउँदै अन्य अंगहरूसँग सहकार्य गर्दै निष्पक्ष समाज निर्माणमा भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा केन्द्रिय सदस्य रामराज पोखरेलले स्थानीय मुद्दामा सशक्त ढंगले लाग्न पत्रकारहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रमपछि सहभागी पत्रकारहरूलाई समाचार लेखनका लागि विभिन्न विषयवस्तु उपलब्ध गराइने सञ्चालक बस्यालले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सञ्जु पौडेलले गर्नुभएको थियो।

You may also like